
कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरीले आर्थिक वर्ष २०८२÷८३ मा सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै ११ करोड ७२ लाख २५ हजार ३ सय ३४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ ।
गणको २३औँ स्थापना दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिका–५को मुख्यालयमा आयोजित कार्यक्रममा वार्षिक विवरणअनुसार लागूऔषधसँग सम्बन्धित ३१ वटा मुद्दामा ५० जनालाई पक्राउ गरिएको छ । यस अवधिमा एक नाल भरुवा बन्दुक समेत बरामद गरिएको र जफत गरिएका सामान सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको जानकारी दिइएको छ ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलका अनुसार सीमा सुरक्षा, तस्करी नियन्त्रण, विपद् व्यवस्थापन, विशिष्ट व्यक्ति सुरक्षा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय काम गरिएको छ । उनका अनुसार वर्षभरिमा भएका ३४ वटा विपद्का घटनामा सुरक्षाकर्मी परिचालन गरी ४१ जनाको सकुशल उद्धार गरिएको थियो भने १० वटा शव खोजी तथा व्यवस्थापन गरिएको थियो ।
विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि १८ वटा अभ्यास सञ्चालन गरिएको र १७२ वटा जनचेतनामूलक कार्यक्रम मार्फत एक हजार २ सय ५५ जनालाई सहभागी गराइएको गणले जनाएको छ । विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत शुक्लाफाँटा र बेलौरी नगरपालिकाका ३८ जनालाई स्वयंसेवक तालिम समेत प्रदान गरिएको छ ।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन वर्षभरि ५ सय पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको थियो । यसका साथै भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग ६ वटा समन्वय बैठक, १२ पटक सीमा पैदल गस्ती तथा सीमा स्तम्भहरूको मर्मतसम्भार गरिएको विवरणमा उल्लेख छ । संयुक्त टोलीमार्फत ५२ वटा सीमा स्तम्भ मर्मत, तीन वटा नयाँ निर्माण तथा चार वटा पुनर्निर्माण गरिएको जनाइएको छ ।
गणका अनुसार विपद् सूचना प्रणालीलाई सुदृढ बनाउन दुई हजार ५ सय ९२ जना विपद् सूचक तथा निर्वाचन प्रहरीलाई अभिलेखीकरण गरी नियमित सम्पर्कमा राखिएको छ । स्थानीय तहसँगको सहकार्यमा प्राप्त चार वटा रबर राफ्ट प्रयोग गरी महाकाली नदीमा आएको बाढीका क्रममा दुई जनाको सफल उद्धार गरिएको पनि जानकारी दिइयो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सीमावर्ती क्षेत्रमा स्वास्थ्य शिविर, एसएसबीसँग मैत्रीपूर्ण खेलकुद, युवामुखी सीपमूलक तालिम तथा अन्य सामुदायिक कार्यक्रम सञ्चालन गरिएको गणले जनाएको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को साउन महिनासम्म मात्रै ५० लाख २६ हजार १ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइसकिएको विवरणमा उल्लेख गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नं. ७ वैद्यनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले सीमा सुरक्षासँगै मानवीय सेवामा सशस्त्र प्रहरीको भूमिका अझ प्रभावकारी बन्दै गएको बताए । उनले सीमा अपराध नियन्त्रण, तस्करी रोकथाम तथा विपद् व्यवस्थापनमा स्थानीय तह, प्रशासन र नागरिकबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले शान्ति सुरक्षा, विपद् व्यवस्थापन र सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै सुरक्षा निकायबीचको समन्वय आगामी दिनमा पनि थप प्रभावकारी हुनुपर्ने धारणा राखे । स्थापना दिवस कार्यक्रममा विभिन्न सुरक्षा निकाय, स्थानीय तह, सञ्चार क्षेत्र तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारी र विपद् सूचकलाई सम्मान समेत गरिएको थियो ।

