
महेन्द्रनगर । सहकारीको रकम हिनामिना सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ निवासी ४१ वर्षीय सिद्धराज सोती रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनलाई सोमबार दिउँसो आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका प्रवक्ता डीएसपी टेकबहादुर रावतले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा सोतीलाई पक्राउ गरिएको जानकारी दिए ।
जिल्ला अदालत कञ्चनपुरले २०८२ साल मंसिर २ गते सहकारी रकम हिनामिना मुद्दामा सोतीलाई दुई वर्ष कैद सजाय तथा ८ लाख ८७ हजार २ सय ७८ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
फैसलापछि फरार रहेका सोतीलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको जनाएको छ । उनलाई अदालतको आदेश कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

