काठमाडौं ।  कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महता काठमाडौं फर्किएका छन्। करिब १७ दिनसम्म निर्वाचन क्षेत्रमा बसाइँ गरी विभिन्न बस्तीमा जनभेटघाट, समस्या सुनुवाइ तथा सरोकारवालासँग छलफल सम्पन्न गरेपछि उनी प्रतिनिधि सभाको बैठकमा सहभागी हुन काठमाडौं आएका हुन्।

प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकअघि सांसद महताले सम्माननीय प्रधानमन्त्रीसँग करिब २ घण्टा लामो भेटघाट तथा छलफल गरेका छन्। छलफलमा उनले कञ्चनपुर क्षेत्र नं. ३ सहित समग्र जिल्लासँग सम्बन्धित जनजीविकाका महत्वपूर्ण विषयहरू उठान गरेको जानकारी दिएका छन्।

सांसद महताले उठाएका प्रमुख विषयहरूमा विद्युतिय स्कुटरको दर्ता समस्या, छाडा चौपाया व्यवस्थापन, रासायनिक मलको अभाव, महाकाली पुल आयोजना र महाकाली करिडोर निर्माण, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित नागरिक तथा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या, सरकारी कार्यालयको सेवाप्रवाह सुधार तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण रहेका छन्।

विशेषगरी भारतबाट ल्याइएका विद्युतिय स्कुटरहरू पछिल्लो समय प्रहरीले नियन्त्रणमा लिन थालेपछि एकपटकका लागि विशेष दर्ता प्रक्रियामार्फत सहजीकरण गर्नुपर्ने आवश्यकता उनले प्रधानमन्त्रीसमक्ष राखेका छन्। त्यस्तै किसानलाई प्रत्यक्ष असर परेको छाडा चौपाया व्यवस्थापन र मल अभावको समस्या तत्काल समाधान गर्नुपर्ने माग पनि उनले गरेका छन्।

महाकाली पुल आयोजना र महाकाली करिडोर निर्माण कार्यलाई तीव्रता दिनुपर्ने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवार, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या यथाशीघ्र समाधान गर्नुपर्ने विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद महताका अनुसार प्रधानमन्त्रीले उठाइएका विषयहरूमा गम्भीरतापूर्वक ध्यान दिने, सम्बन्धित निकायमार्फत आवश्यक पहल गर्ने तथा चाँडै प्रभाव देखिने गरी सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौं प्रस्थानअघि सार्वजनिक गरिएको जानकारीमा सांसद महताले कञ्चनपुरका नागरिकले उठाइरहेका हरेक जायज समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय, पहल गर्दै अघि बढिरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुस