कञ्चनपुर माघ ७, मंगलबार कञ्चनपपुर पुग्नु भएका भैतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सार्वजनिक यातायातका क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने सरकारको योजना रहेको बताउनुभयो । कञ्चनपुरको महेन्द्रनगरमा मंगलबार आयोजित भीमदत्त बसपार्कको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित गर्नका लागि सरकारले तीनवटै तहका सरकारसंग समन्वय गरेर संघीय यातायात सम्बन्धी कानुन ल्याउने तयारी गरिरहेको समेत बताउनुभयो ।

निजी, साझेदारी तथा दातृ निकाय संग समेत सहकार्य गरेर आम नागरिकलाई सुरक्षित यात्राको प्रत्याभूती दिलाउने गरी यातायात क्षेत्रमा प्राविधिकरण समेत गठन गर्ने उहाँको भनाइ छ । त्यस्तै मन्त्री नेम्वाङले सवारी साधन चालकका लागि रिफ्रेस सेन्टर खोलिने बताउनु भएको छ । उहाँले भीमदत्त बसपार्क नयाँ प्रविधी र सुविधायुक्त बसपार्कका रुपमा निर्माण भएकोले ऐतिहासिक महत्व रहेको चित्रण गर्दै भीमदत्त नगरपालिकाले यातायात क्षेत्रमा गरेको कार्य अरु स्थानीय तहले समेत अनुशरण गर्नुपर्ने धारणा राख्नुभयो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले यातायात क्षेत्रको विकास र सुविधाका लागि भीमदत्त बसपार्क थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने बताउनु भएको छ । उहाँका अनुसार भीमदत्त नगरपालिकाले गतवर्ष ७ करोड ३२ लाख ५४ हजार ५९४ रुपैयाँ लागतमा निर्माण गरेको बसपार्कमा गुरुयोजना अन्तर्गत पर्खाल, सुरक्षा पोष्ट, तीन तले कार्यालय भवन, ग्रिन पार्क, घण्टाघर, पेट्रोल पम्प, ट्याक्सी स्टेन्ड, डिजिटल सूचना बोर्ड, ढल निकास, शौचालय, व्यावसायिक कक्ष, टिकट काउन्टर, सौय बत्ती, लकर रुम र गाडी स्टाफका लागि आराम गृह निर्माण गरिएको छ । साथै बसपार्कलाई थप व्यवस्थित बनाउने भीमदत्त नगरपालिको योजना रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुस