कञ्चनपुर फाल्गुन १२ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आयोजनामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम ई.जी.आर.पी . अन्तर्गत स्थानीय तहका सबै जनप्रतिनिधि तथा शिक्षासम्बद्ध पदाधिकारीहरुका लागि क्षमता विकास कार्यशाला गोष्ठी आईतबार देखि शुरु भएको छ ।
कार्यशाला गोष्ठी कार्यक्रमा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले शुभकामना मन्तव्य राख्दै यस कार्यशाला गोष्ठीले प्रारम्भिक शिक्षामा शैक्षणिक सुधारको सकारात्मक सन्देश गएको बताए ।
प्रारम्भिक शिक्षाको सवलीकरण गर्न नगरपालिका लक्ष्यसहित योजनाबद्ध रुपमा अगाडी बढेको बताउँदै छिट्टै नगरले शैक्षिक क्षेत्रमा फड्को मार्नेमा विश्वास व्यक्त गरे ।

शुक्लाफाँटा नगरपालिकाका सामाजिक विकास समिति संयोजक शिवराज पनेरुको सभापतित्वमा शुरु भएको उक्त गोष्ठीमा नगर शिक्षा शाखा प्रमुख टिकेन्द्र प्रसाद भट्टका अनुसार वालवालिकाहरुको पठन सीप अभिबृद्धि गराई शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार ल्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
कार्यशाला गोष्ठीमा स्वागत मन्तव्य राख्दैलई.जी.आर.पी . जिल्ला संयोजक धर्मराज रानाले स्थानीय तहका जनप्रतिनिधि र शिक्षा सम्बद्ध सरोकारवालाहरु सित सन् २०१५ देखि ई।जी।आर।पी। सञ्चालन गर्दै आएको र त्यसको प्रगति संगसंगै दोस्रो चरणको कार्यक्रम सञ्चालन भईरहेको बताए । त्यसको लागि सरसल्लाह र विशेष गरेर ई.जी.आर.पी .लाई नेपाल सरकारले कसरी सञ्चालन गर्ने भनेर स्थानिय तहसित प्रबद्र्धनात्मक छलफल गरि शैक्षिक अवस्थालाई हेरेर प्रोफाईलको रुपमा विकास गर्दै शैक्षिक सुधार गरिने उनले बताए ।

ई.जी.आर.पी .का अन्य कार्यक्रमहरु .एग्रा र सि.वि–एग्रा. लाई सञ्चालन गर्न यस स्थानीय निकायसित सहमति भईसकेकोले सोको विषयमा समेत गोष्ठीमा छलफल हुनेछ । यस्तै शिक्षा नीति २०७६ अनुसार सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरुपको मानव संसाधन विकास गर्ने लक्ष्य रहेको छ । बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित प्रारम्भिक बालविकास तथा शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने र विद्यालय शिक्षामा अध्यापन गर्ने जनशक्तिको सक्षमता परीक्षण र तालिमलाई अनिवार्य गर्ने । हाल कार्यरत शिक्षकको सक्षमता परीक्षणको व्यवस्था गरी पेशागत सक्षमता, अद्यावधिकता, उत्प्रेरणा, कार्यसम्पादन स्तर र अनुभव जस्ता पक्षहरुलाई शिक्षकको वृत्ति विकाससँग आवद्ध गर्ने उद्देश्य राखेको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त गोष्ठीमा नगर प्रवक्ता जगत बहादुर सिंह, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित विभिन्न विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरु सहित शिक्षासित सरोकार राख्ने सम्बद्ध सबैको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुस