दिपकराज भट्ट
डडेल्धुरा फल्गुन १३, डडेल्धुरामा रहेका मुक्त हलिया पुर्नस्थापनाका लागि आएको रकम अन्य शीर्षकमा खर्च गरिएको भन्दै डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ ।
उजुरी पत्रमा गन्यापधुरा गाउँपालिका कार्यपालिका समिति, गाउँपालिकाका तत्कालिन कार्यकारी अधिकृत करुणाकर पन्त र तत्कालिन लेखापाल दिलबहादुर ऐरलाई समेत विपक्षी बनाइएको छ । गन्यापधुरा गाँउपालिका वडा नं.३ र ४ का करिब ८४ मुक्त हलिया परिवारको पुर्नस्थापनाका लागि नेपाल सरकारले विनियोजन गरेको २ करोड ४४ लाख ३५ हजार रुपैयाँ भ्रष्टाचार गरिएको उजुरीमा उल्लेख छ ।
गन्यापधुरा गाँउपालिका वडा नं. ३ बस्ने बाजी दमाईसहित ५ जनाले उक्त उजुरी दर्ता गराएका हुन् । जिल्ला हुलाक कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा पठाइएको र प्रमुख जिल्ला अधिकारीलाई उक्त उजुरीको बोधार्थ दिइएको मुक्त हलिया बाजी दमाईले जानकारी दिए ।
मुक्त हलियाको पुर्नस्थापना कार्यक्रम संञ्चालनका लागि नेपाल सरकारले गाउँपालिकामा बजेट पठाएको र सोही कार्यान्वयनका लागि मालपोत कार्यालय डडेल्धुराले गन्यापधुरा गाँउपालिकाको कार्यालयलाई मुक्त हलिया परिवारको नामावली समेत पठाएकोमा गाउँपालिकाले उक्त रकम अन्यत्र खर्च गरेको उजुरीमा उल्लेख गरिएको छ ।
मुक्त हलिया पुर्नस्थापनाको बजेट आएको विषयमा आफूहरूले २०७६ फागुन ७ गते मात्रै जानकारी पाएको र सोही विषयमा बुझ्न गाउँपालिका कार्यालयमा सम्पर्क गर्दा कुनैपनि कागजातसमेत नदेखाइएको र जानकारीसमेत नदिएको उजुरीमा उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष, कार्यकारी अधिकृत र लेखापालको मिलोमतोमा उक्त रकम गाउँपालिकाको मुलखातामा रकमान्तर गरि २०७६ असार महिनामा विभिन्न फर्जि्बिल, योजना र किर्ते कागजात तयार गरि भ्रष्टाचार गरेको उजुरीमा उल्लेख गरिएको छ । उजुरीकर्ताहरुले निजव्यक्तिहरु र गाउँकार्यपालिकाको कार्यालयमाथि थप अनुसन्धान गरि भ्रष्टाचारविरुद्धको ऐन बमोजिम कारबाहीको माग गरेका छन् ।
नेपाल सरकारको सञ्चित कोषमा दाखिला भइसकेको अध्यक्ष मल्लको दाबी
मुक्त हलिया पुर्नस्थापनाको बजेटका विषयमा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले भने नेपाल सरकारको शसर्त बजेट कार्यान्वन हुन नसकेपछि उक्त रकम नेपाल सरकारको सञ्चित कोषमा दाखिला भएको दाबी गरेका छन्।
आर्थिक वर्ष २०७५र०७६ को असार २९ गते गाउँपालिकाको खातामा रकम आएको र सोही आर्थिक वर्षमा काम गर्न नसकिने भएपछि गाउँपालिकाको मुलखातामा सारेर राखेको अध्यक्ष मल्लले बताए ।
मुलखातामा रहेको उक्त रकम महालेखा परिक्षकको कार्यालयको अन्तिम लेखा परिक्षणको प्रारम्भीक प्रतिवेदनको आधारमा नेपाल सरकारको सञ्चितकोषमा दाखिला भइसकेकोसमेत उनले बताए।

प्रतिक्रिया दिनुस