कञ्चनपुर चैत्र ९ ,कञ्चनपुर को बेदकोट नगरपालिकाले कोरोना आईसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणमा परेकाहरुको उपचारका लागि बेदकोट नगरपालिकाले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । आइतबार आइसोलेसन केन्द्रको उद्घाटन नगर प्रमुख अशोककुमार चन्दले गरेका छन् ।
महामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमितका लागि आईसोलेसन केन्द्र निर्माण गरिएको नगर प्रमुख चन्दको भनाई छ । उनका अनुसार नगरपालिकाले हाल ६ वेडको आइसोलेसन केन्द्र स्थापना गरिएको छ । ‘अहिले हामीले ६ बेडको आइसोलेसन केन्द्र स्थापना गरेका छौं,’ उनले भने,‘आवश्यकता अनुसार बेड थप्छौं ।’आइसोलेसन केन्द्रमा स्वास्थ्यकर्मी समेत परिचालन गरिने छ ।
यसैगरी बेदकोट नगर कार्यपालिका बैठकले हालका लागि ३ स्थानमा क्वारेन्टाइन स्थापना गर्ने र पछि सबै वडामा स्थापना गर्ने,ज्वरो, रुघाखोकीका बिरामीलाई तुरुन्त उपचारका लागि अस्पताल पठाउने, स्वयंमसेवक परिचालन गर्न स्वास्थकर्मीबाट तालीमको ब्यबस्था गर्ने निर्णय गरेको छ ।
त्यस्तै कोरोना सम्बन्धि सचेतना अभियान संचालन गर्ने, जनचेतनाका लागि नगर र वार्ड स्तरीय समिति गठन गर्ने, सहयोगका लागि सबैलाई अपिल गर्ने, कालोबजारी रोक्न सर्बदलिय अनुगमन गर्ने, नागरिक र जनतालाई अति आबश्यक कामबाहेक अन्य समयमा सुरक्षित घरमा बस्न अनुरोध गर्ने, हेल्पडेस्क स्थापना गर्नेलगायतका निर्णय कार्यपालिका बैठकले गरेको छ ।