बैतडी चैत्र २४ ।कोरोनाको जोखिम न्यूनीकरणका बैतडी जिल्लामा एक नगरपालिकाबाट अर्को नगरपालिका जान लक डाउनको समयमा थप कडाई गरिएको छ ।बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले ५ बुँदे निर्देशन जारी गर्नुभएको छ । स्थानीय प्रशासन ऐन २०२८को दफा ६ उपदफा ३ बमोजीम लकडाउनलाई पूर्ण पालना गराउन आदेश गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि खाद्यान्न, तरकारी, औषधि, ग्यास तथा फलफूल पसल दिनमा दुई पटक मात्रै खोल्न पाउने र सामाजिक दुरी कायम गरेर मात्रै बेचबिखन गर्न आदेशमा भनिएको छ ।

बिहान ७ बजेदेखि ९ र अपरान्ह ४ बजेदेखि ६ बजे सम्म मात्रै अत्यावश्यक पसलहरु खोल्न पाइने आदेशमा उल्लेख गरिएको छ । यस्तै विभिन्न बहानामा मदिराको विक्रि वितरण तथा सेवन गर्नेलाई कानुन अनुसार कारवाही गर्ने आदेशमा उल्लेख गरिएको छ । अवैध सीमा वारपार, हिडडुल, मर्निङ वाक, खुल्लाचौर र बाटोघाटोमा हुने अनावश्यक भीडभाडलाई नियन्त्रण गरिने उल्लेख गरिएको छ । अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासनबाट जारी गरिने सबै प्रकारको सवारी पास बन्द गरिएको आदेशमा उल्लेख गरिएको छ ।

यसैगरी लकडाउनको अवधिभर अन्तरपालिका तथा जिल्लामा हुने आवागमनलाई पूर्ण रोक लगाइएको आदेशमा उल्लेख गरिएको छ । आदेश उल्लेख भएका कुराहरु कसैले अवज्ञा गरेमा कानुन बमोजीम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस