काठमाडौं, चैत्र, २९ । कोरोना भाइरस (कोभिड१९) लाई फैलिन नदिन ११ गते बाट जारी गरेका लक डाउन तत्काल नखुल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारेका छन्। शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन्। शनिबार बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चार घण्टा चलेको भिडियो संवादका क्रममा प्रधानमन्त्री ओलीले सीमामा अझै कडाइ गर्ने प्रष्ट पारेका छन्।

सरकारले अहिले भारतीय सीमामा प्रत्येक किलोमिटरको दरमा सशस्त्र प्रहरी खटाएर गस्ती गरिरहेको छ। ुलकडाउन छिट्टै अन्त्य हुँदैन। सरकारले सीमामा अझ कडाइ गर्छ। भावुक कुरा गरेर लापरबाही स्वीकार्य हुँदैनु, उनले मुख्यमन्त्रीहरुसँगको संवादमा भने, संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको छ। भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। यसमा नरम बनेर लापरबाही नगर्नु होला, यो कुरामा सचेत रहनुस्।

प्रधानमन्त्री ओलीले सरकारभन्दा भिन्‍न कुनै संयन्त्र आवश्यक नरहेको पनि प्रष्ट पारेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैनु, उनले भने, सरकार स्वयंले अथोरिटीका साथ काम गरिरहेको छ। भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ-आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरूको स्थिति जानकारी लिएका थिए। उनले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पारेका छन्।

सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको छु, ओलीले भने, अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट आम नेपाली दाजुभाइ दिदी बहिनी कोही पनि प्रभावित नहुनुस्। ओलीले लकडाउनमा प्रशासनिक लापरबाही हुनै नहुनेमा जोड दिए। उनले जनतालाई दुस्ख दिन नभइ जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन आग्रह गरे। ओलीले सरसफाईमा बिशेष ध्यान दिन, मास्क र चश्मा प्रयोग गर्न तथा मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुस