कञ्चनपुर,चैत,३०। कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण रोकथाम गर्न चैत्र ११ गते देखि देशभरमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ । सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न निकै मुस्किल भएको छ । दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई लक डाउनका कारण काम नपाइँदा समस्या भएको छ ।

मुक्त हलिया हरि नेपालीले ज्याला मजदुरी गरेर ल्याएको रकमले खरिद गरिएको खाद्यान्न सकिएपछि छिमेकीसँग मागेर गुजारा चलाएको बताए । ‘छिमेकीको घरमा समेत भण्डारण गरिएको अन्न सकिन थालेपछि उनीहरुले समेत दिन छाडेका छन् । खाद्यान्न नपाइने अवस्था आएकाले भोकै बस्नुपर्ने भएको छ’, उनले भने ।

स्थानीय तह र विभिन्न दातृ निकायले राहत सामग्री बाँड्दै आए पनि मुक्त हलिया परिवारले राहत सामग्री पाउन सकेका छैनन् । ‘कोरोना भाइरसको सङ्क्रमण हुनबाट जोगिन घरबाट बाहिर ननिस्कन भनिएको छ’, मानध्वज लुहारले भने, ‘घरभित्र खानका लागि केही छैन, भोकै बस्न सकिँदैन । गाउँमा गएर मागेर ल्याउनुपरेको छ ।

गाउँमा समेत स्थानीय बासिन्दाले दिन नमान्दा भोकभोकै परिवारसँग बस्नुपर्ने भएको छ ।’ राष्ट्रिय मुक्त हलिया महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर सुनार देश लकडाउन भएको १९ दिन बितिसक्दा मुक्त हलिया परिवार राहतको पर्खाइमा रहेको बताए । सरकारले राहत वितरणसम्बन्धी कार्यविधि निर्माण गरी निश्चित मापदण्डका आधारमा अतिविपन्न परिवारलाई स्थानीय तहमार्फत एकद्वार प्रणालीबाट राहत वितरणको कार्य भइरहेको छ ।

‘राहत पाउनेमा थोरै नगण्य मात्रामा मुक्त हलिया परिवार समेटिएका छन्’, उनले भने, ‘अधिकांश परिवार राहत पाउनबाट वञ्चित छन् । कठिन अवस्थामा लकडाउनको प्रत्यक्ष मारमा परेका मुक्त हलिया परिवारलाई प्राथमिकतामा राखी राहत वितरण गरिनु पर्दछ ।’ धेरै मुक्त हलिया परिवार भोकभोकै बसेको खबर र गुनासो आएकाले तत्काल राहतको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

मुक्त हलिया परिवारलाई तीनै तहका सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सबैलाई दैनिक उपभोग्य वस्तु र सरसफाइका सामग्री उपलब्ध गराई दिन समेत उनले आग्रह गरेका छन् । लकडाउनको पालनासँगै राहतका लागि समन्वय गर्न जिल्लास्थित मुक्त हलिया सङ्गठन, मुक्त हलिया अगुवाहरुलाई अध्यक्ष सुनारले आग्रह गरेका छन् । सुदूरपश्चिम क्षेत्रमा झण्डै १६ हजार बढी मुक्त हलिया परिवारको बसोबास छ ।

प्रतिक्रिया दिनुस