काठमाडौँ बैशाख २१। आज मे ३ वैशाख २१ विश्व प्रेस स्वतन्त्रता दिवस । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन विश्वभर ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदै आइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नारा तय गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

विश्व प्रेस स्वतन्त्रताको अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एक शुभकामना सन्देश जारी गर्दै नेपालमा यस वर्ष कोरोनाको प्रभावका कारण भौतिकरुपमा प्रत्यक्ष सहभागी भई खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था नरहे पनि नेपालमा प्रेस स्वतन्त्रताका सवालमा डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन र प्रसारणमार्फत् विविध कार्यक्रमको आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने जनाएका छन् ।

नेपाल पत्रकार महासंघले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षकोे आतिथ्यतामा ‘प्रेस स्वतन्त्रता र भय तथा पक्षधरतामुक्त पत्रकारिता’ शीर्षकमा आज दिउँसो १ बजे विशेष डिजिटल संवाद कार्यक्रम आयोजना गर्दैछ । सोही अवसरमा दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्थाबारे अन्तार्राष्ट्रिय पत्रकार महासंघ ९आइएफजे० को अनुगमन प्रतिवेदन सार्वजनिक गरिँदैछ । यसैगरी पत्रकार महासंघका प्रदेश समिति र शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइने महासंघका अध्यक्ष आचार्यले जनाएका छन् ।

विश्व प्रेस स्वतन्त्रा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले यस वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण बनेको बताएका छन् । विभिन्न तहहरूमा कानून निर्माणको प्रक्रिया अघि बढिरहँदा कतिपय ऐन र प्रस्तावित मस्यौदाहरूमा प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्ने संविधानका धाराहरू विपरित हुने खालका प्रावधानहरू राखिएको अध्यक्ष आचार्यले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

संघीय सरकार र प्रदेश सरकारले संसदमा पेस गरेका, मस्यौदा गरेका एवम् विचाराधिन अवस्थामा रहेका सञ्चारसम्बन्धी विधेयकहरुमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्चाउन महासंघले निरन्तर आवाज उठाँउदै आएको उल्लेख गर्दै अध्यक्ष आचार्यले अझ कडा निगरानीसहित दबाबमूलक पहलकदमी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

यसैबीच, क्रान्तिकारी पत्रकार महासंघले जारी गरेको वक्तव्यमा प्रेस विरोधी कानुनहरुको खारेजी तथा आमूल संशोधनका निम्ति आन्दोलनको विकल्प नरहेको कुरामाथि जोड दिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघका अध्यक्ष इन्द्र राउतले जारी गरेकोे शुभकामना सन्देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति आन्दोलनमा जोड दिएको हो ।

प्रतिक्रिया दिनुस