कञ्चनपुर असार ४। सुदूरपश्चिमका बिभिन्न जिल्लामा एकै दिनमा थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसी आरडीटी रिपोट पोजेटिभ देखिएका २५ जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ । दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।

नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन्। यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ। नयाँ थपिएका संक्रमितहरु क्वारेन्टाइनमै रहेका जानकारी आएको र उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेका छन्। योसंगै अछाम जिल्लामा संक्रमितको सङख्या ५१ जना पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । चार जनाको मृत्यु भएको छ भने एक सय भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

डडेल्धुरा जिल्लामा थप ८३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या एक सय २२ पुगेको छ।

सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला भएकोले स्वाबको चाप बढ्दै गएपछि दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाईएको थियो।

प्रतिक्रिया दिनुस