कञ्चनपुर असार १५ । चोरीका मोटरसाइकल नक्कली ब्लुबुक (सवारी दर्ता किताब) बनाएर बिक्री–वितरण गर्ने गिरोह पक्राउ परेको छ ।कञ्चनपुर र सुदूरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले कैलाली र कञ्चनपुरका दुई जिल्लाबाट १२ जनालाई पक्राउ गरेको हो ।

सरकारी कागजात किर्ते गरी चोरीका मोटरसाइकलको नक्कली ब्लुबुक बनाउने गरेको आरोपमा यातायात व्यवस्था कार्यालय धनगढीका कर्मचारीसहित १२ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन गरी कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।सरकारी कर्मचारी किर्ते धन्दामा संलग्न भएको खुल्न आएको छ । उनीहरूको संलग्नतामा चोरीका मोटरसाइकलको नक्कली ब्लुबुक बनाई बिक्री गर्ने गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले चेकजाँचका क्रममा एकै मोटरसाइकलका दुई ब्लुबुक फेला परेपछि प्रहरीले खोजीकार्य अघि बढाउँदा कैलाली र कञ्चनपुरमा नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल बिक्री–वितरण गर्ने गिरोह फेला पार्न सफल भएको बताए ।‘अहिले दुई सरकारी कर्मचारी, १० जना धन्दामा संलग्न व्यक्ति र आठ मोटरसाइकलसहित ब्लुबुक नियन्त्रणमा लिएको बताउनुभयो ।
कञ्चनपुर प्रहरीले किर्ते काममा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर अपरेटर गणेश भट्टराई, कार्यालय सहयोगी जितेन्द्र राना, धनगढी उपमहानगरपालिका– ३ मिलनचोकका श्याम राना र कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ जाइका बहादुर राना, रामदयाल राना, लालझाडी गाउँपालिका– १ का रामविनास राना, बेदकोट नगरपालिका– ६ सिसैयाका बहादुर राना, राजकुमार राना, हरेन्द्र राना, रामलाल राना, बेदकोट नगरपालिका– ५ का प्रदीप राना र लक्ष्मी रानालाई प्रहरीले पक्राउ गरेको छ ।

‘सरकारी कर्मचारीसहितको संलग्नता देखिएको छ,’ कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘साथै ब्लुबुक र मोटरसाइकलसमेत बरामद गरेका छौँ ।’‘सरकारी कर्मचारीजस्तो जिम्मेबार व्यक्तिहरू नै किर्ते, चोरी गिरोहमा संलग्न भएको पाइएको छ, ‘कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘किर्ते मुद्दा चलाउँछौँ, सवारीधनीले निवेदन दिए चोरीको समेत मुद्दा चलाउँछौँ ।’

बरामद गरिएको मोटरसाइकलको हुलिया, चेसिज नक्बरसहित सवारीधनी सम्पर्कमा ल्याउनका लागि देशैभरिकै ७७ जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको उनले बताए ।यसरी सरकारी कार्यालयबाट किर्ते ब्लुबुक बनाएर गिरोहले कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री–वितरण गर्ने गरेको खुल्नमा आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस