काठमाडौं, असार २६ । सरकारले छोटो दुरीका सबै सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने निर्णय गरिएको छ ।चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ ।

साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ ।सरकारको यो निर्णयअनुसार लामो दुरीका सार्वजनिक यातायातका साधन अझै सञ्चालन गर्न पाइनेछैन ।निजी सवारीको हकमा जोरविजोर कायमै छ र, चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिका राख्न सकिनेछ ।सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने अर्थमन्त्री खतिवडाले बताए ।

सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ ।सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा.खतिवडाले बताए । तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन ।अनलाइनखबर बाट

प्रतिक्रिया दिनुस