काठमाडौं,असार २८ । नेकपा (क्रान्तिकारी माओवादी)को पोलिटब्यूरोको बैठक सम्पन्न भएको छ । सनिबार बसेको बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक जानकारीका लागि सो पार्टीले एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले आइतबार जारी गरेको प्रेस वक्तव्यमा राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकल वा संयुक्त रुपमा अगाडि बढाउने, जनगणतान्त्रिक शक्तिहरुको सरकार स्थापनाका लागि संघर्ष गर्ने, कोभिड–१९ को महामारी नियन्त्रणका लागि पीसीआर परीक्षणको दायरा बढाउन, बाढी पहिरो र डुवानमा परेका जनताहरुको उद्दार र राहतको कार्यलाई तीव्र र प्रभावकारी रुपमा अगाडि बढाउन सरकारलाई खबरदारी गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरिएको उल्लेख छ ।
बैठकले महासचिव किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आवश्यक छलफलसहित सर्वसम्मत रूपमा पारित गरिएको थियो ।बैठकले देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा गर्न, भारतीय विस्तारवादद्वारा अतिक्रमित भूभाग फिर्ता ल्याउन र अमेरिकी साम्राज्यवादद्वारा ल्याइएको हिन्दप्रशान्त रणनीति अन्तर्गतको एमसीसी परियोजना खारेज गर्नका लागि आफ्नै पार्टीको स्वतन्त्र पहलमा आन्दोलन गर्दै जाने र एघार राजनीतिक दल तथा सम्भव भएसम्म अन्य देशभक्त शक्ति तथा व्यक्तित्वहरूलाई समेत समेटी संयुक्त आन्दोलन सञ्चालन गर्नका लागि आवश्यक पहलगर्ने निर्णय लिएकोे छ ।
वक्तव्यमा भनिएको छ, “कोभिड १९को महामारीको समयमा देशभित्र र विदेशबाट आएका पीडितहरूको क्वारेन्टाइनमा समुचित व्यवस्थापन, स्वास्थ्यजाँच तथा उपचार, महिलाहरूको अस्मिता तथा जीवनसुरक्षा, मजदुर, अशक्त तथा रोजगार विहिनहरुलाई राहत प्रदान लगायतका काममा सरकारद्वारा आप्mनो दायित्व निवाह गर्नेबारे गम्भीर लापरवाही हुँदै आएको छ । यी विषयबारे विशेष गम्भीर बन्दै मजदुर, अशक्त तथा रोजगारविहीनहरुका लागि समुचित राहत प्रदान गर्न तथा रोजगारीको व्यवस्था मिलाउन र महिलाहरूको अस्मिता तथा जीवनरक्षा गर्न समेत पार्टी सरकारसित जोडदार माग गर्दछ ।”
वक्तव्यमा अगाडि भनिएको छ, “अहिले मनसुन वर्षासितै देशमा बाढी, पहिरो तथा डुवानका कारण धनजनको ठूलो क्षति हुन गएको छ । प्राकृतिक विपदाको यस घडीमा आप्mनो अमूल्य जीवन गुमाउने सबै सर्वसाधारण जनताप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र पीडितहरुको राहत तथा उद्धार, स्वास्थ्य उपचार र हराइरहेकाहरुको खोजीका लागि विशेष पहल गर्न सरकारसित पार्टी जोडदार माग गर्दछ । साथै, पार्टी सम्बन्धित ठाउँमा जनताको राहत उद्धार कार्यमा संलग्न हुन सबै पार्टी कमिटि तथा कमरेडहरुलाई विशेष निर्देशित समेत गर्दछ ।”
बैठकले वर्तमान राज्यसत्ता, व्यवस्था र सरकार समेत देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, राष्ट्रिय पुँजीपति लगायतका शोषित पीडित वर्ग तथा जनसमुदायका राजनीतिक हक अधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितता गर्ने काममा असमर्थ तथा असफल बन्दै आएकोमा अब नयाँ विकल्पको आवश्यकता टड्कारो बन्दै गएको निष्कर्ष निकाल्दै यस निम्ति संघीय जनगणतन्त्र, नेपाल र देशभक्त तथा जनगणतान्त्रिक शक्तिहरुको सरकार स्थापना गर्नका लागि आवश्यक तयारी तथा सङ्घर्षमा विशेष जोड दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुस