कञ्चनपुर, भाद्र, २। भीमदत्त नगरपालिकाले कोरोना संक्रमण जाँचका लागि खरिद गरेको पिसिआर मेसिन मंगलबार महेन्द्रनगर पुगेको छ । भीमदत्तले कोरोना संक्रमणको परीक्षण दर बढाउन मेसिन खरिद गरेको हो ।

मंगलबार पिसिआर मेसिन भीमदत्त नगरपालिका कार्यालयमा पुगेको छ । नगरपालिकाले आव्हान गरेको सार्वजनिक सूचना अनुसार सुदिप इन्टरनेशनले ३८ लाखमा खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको छ ।

पिसिआर मेसिन आएपछि महाकाली अस्पताललाई हस्तान्तरण गरी सञ्चालन प्रक्रिया जाने तयारी थालिने छ । भीमदत्त नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकार र महाकाली अस्पतालको साझेदारीमा मेसिन सञ्चालनका लागि अघि बढेको हो ।

भीमदत्तले मेसिन खरिद गरी अस्पतालाई उपलब्ध गराउने जिम्मेवारी पाएको थियो । त्यो बाहेक मेसिन जडान गरी सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकार र महाकाली अस्पताललाई दिइएको छ ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले कोरोना संक्रमणको परीक्षण दायरा बढाउन नगरपालिकाले खरिद गरेको मेसिन कार्यालयमा पुगेको बताए ।‘कोरोना संक्रमण बढेपछि पिसिआर जाँचका लागि पिसिआर मेसिन किन्न नगरपालिका सबै पक्षसित सहकार्य र समन्वय गरी अघि बढ्यो, त्यो अनुसार खरिद प्रक्रियामा गएका थियौ’ उनले भने,‘अहिले मेसिन कार्यालयमा पुगेको छ, अब यसलाई सञ्चालनतिर जान्छौ ।’मेयर विष्टले नगरपालिका कार्यालयमा आएको मेसिनलाई छिट्टै महाकाली अस्पताललाई हस्तान्तरण गरी सञ्चालन प्रक्रिया सुरु गरिने बताए ।

‘सुदूरपश्चिम प्रदेश सरकार, महाकाली अस्पताल लगायतका सरोकारवालासित सहकार्य र समन्वय गरी नगरपालिकाले मेसिन खरिद गरेको हो’ उनले भने,‘अब यसको व्यवस्थापन पाटोमा जान्छौ, त्यसमा नगरपालिकाको पूर्ण साथ सहयोग हुन्छ ।’

महाकाली अस्पतालमा प्रयोगशाला निर्माण गरी छिटो भन्दा छिटो मेसिन जडान गरिने मेयर विष्टले बताए । ‘अस्पतालमा व्यवस्थापन गरी सञ्चालन गर्ने कुरा हो, त्यसका लागि प्रदेश सरकार र महाकाली अस्पतालले जनशक्ति र प्रयोगशाला उपकरण जुटाएर छिटो सञ्चालनमा ल्याउनेमा विश्वस्त छु’ उनले भने ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दरमा पिसिआर परीक्षण अपेक्षित मात्रामा हुन नसकेपछि भीमदत्तका मेयर विष्टले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक मेसिन खरिद गर्ने निर्णय गरेका थिए । मेसिन किन्ने निर्णय गरिएपछि मेयर विष्टको चौफर्ती प्रशंसा गरिएको थियो ।

कोरोना संक्रमणका कारण सवारी साधन सहज रुपमा सञ्चालन हुन नसकेर खरिदकर्ताले केही दिन ढिलो गरी मेसिन उपलब्ध गराएका हुन् ।भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले पिसिआर मेसिन आएकाले एक दुई दिनमै अस्पताललाई हस्तान्तरण गरिने बताए ।

भीमदत्त नगरपालिकाको कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्देशक एवम् समन्वय समितिले गत जेठ अन्तिम साता मेसिन किन्ने निर्णय गरेको थियो ।अस्पतालमा मेसिन जडान भएर सञ्चालनमा आएपछि पिसिआर जाँचका लागि कैलालीको धनगढी जानु पर्ने बाध्यता अन्त्य हुनेछ ।

भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिह ऐरले प्राविधिक जाँच गरी मेसिन अस्पताललाई हस्तान्तरण गरिने बताए ।पश्चिमी सीमा नाकाका कारण भीमदत्त नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको भन्दै नगर प्रमुख बिष्टले सुरुदेखि संघ र प्रदेश सरकारलाई दबाब दिदैं आएका थिए ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले भीमदत्त नगरपालिकाले कोरोना जाँचका लागि मेसिन खरिद गरेकोमा धन्यवाद दिए ।मेसिन आयो, अब जनशक्ति सहितका अन्य व्यवस्थापन गरी छिटो मेसिन सञ्चालनमा ल्याउँछौ’ उनले भने ।

प्रतिक्रिया दिनुस