काठमान्डौं भाद्र १७ । नेकपा( क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियान (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा केन्द्रीय समितिको तर्फबाट एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सीएमए, एएनएम, ल्याब टेक्नोलोजी र आर्युवेदलाइ विना मापदण्ड खारेज गर्ने निर्णयको विरोध गरेका छन् । प्रेस विज्ञप्तिको पूर्णपाठ तल दिइएको छ ।

प्रेस विज्ञप्ति

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियान (क्रान्तिकारी) शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका र हुने गरेका सबै प्रकारका विकृति र विसँगतिको अन्त्य एवं गलत निर्णयहरुको खारेजीको निम्ति निरन्तर संघर्षरत रहेको कुरा प्रष्ट गर्दछौ । हालै राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सीटीईभीटी मातहत सञ्चालित स्वास्थ्यसँग सम्वन्धित सीएमए, एएनएम, ल्याब टेक्नोलोजी र आर्युवेदलाइ विना मापदण्ड खारेज गर्ने निर्णय प्रति हाम्रो संगठन घोर आपत्ति सहित शसक्त विरोध गर्दछ । साथै चिकित्सा शिक्षा आयोगको उक्त निर्णयलाइ खारेज गर्न नेपाल सरकार समक्ष जोडदार माग समेत गर्दछौ । स्पष्ट मापदण्ड नबनाइ हचुवाको भरमा यस्ता निर्णय नगर्न समेत चेतावनी दिन चाहान्छौ ।
यसै गरी पूर्वाञ्चल विश्वविद्यालय मातहतका क्याम्पसहरुमा अध्यनरत नियमति विद्यार्थीहरुको अनलाइन परिक्षाको नाममा विद्यार्थीहरुबाट जर्बजस्त पैसा असुल्नको लागि ताकेता गर्ने षडयन्त्र गरिदैछ । यसमा हाम्रो संगठन अखिल क्रान्तिकारी घोर विरोध गर्दछ । पूर्वाञ्चल विश्वविद्यालयले उक्त निर्णय तत्काल खारेज गरी नियमित र व्याकपेपर लगायत सबै विद्यार्थीहरुको एकसाथ परिक्षा गर्ने वातावरण तयार गर्न समेत जोडदार माग गर्दछौ । विद्यार्थी संगठनको सहभागिता बेगर कलेज सञ्चालकहरुको दबाबमा षडयन्त्रपूर्वक ढंगले गरिएको उक्त निर्णयलाइ अविलम्ब खारेज गरी सम्वन्धित सरोकारवाला पक्षहरुसँग समेत छलफल गरी वर्तमान परिस्थिति कोभिड – १९ को महामारीलाइ समेत मध्यनजर गर्दै आम विद्यार्थीहरुको निम्ति न्यायोचित एवम् समय सापेक्ष निर्णय गरेर अघि बढ्न सम्वन्धित पक्षसँग जोडदार अपिल गर्दछौ । अन्यथा शसक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिन चाहन्छौं ।
क्रान्तिकारी अभिवादन सहित

हरिकृष्ण गजुरेल
अध्यक्ष

प्रतिक्रिया दिनुस