कञ्चनपुर, भाद्र २४ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको बथानले मंगलबार राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका किसानको दुई विघा जग्गामा लगाएको धानबाली खाएर नोक्सानी पुर्‍याएको छ ।
आठ वटाको संख्यामा आएको हात्तीको बथान किसानको खेतमा पसेर पाक्न लागेको धानबाली नष्ट गरेको हो ।
गयराति किसानका खेतमा पसेर हात्तीको बथानले स्थानीय किसान चेतराम डगौरा, गंगाराम डगौरा र सीताराम डगौराको गरी दुई विघा जग्गामा लगाएको धानबालीमा नोक्सानी पुर्‍याएको छ ।

‘पाक्नै लागेको धानबाली हात्तीको बथानले खाएर र खुट्टाले कुल्चेर तीन जना किसानको खेतमा व्यापक नोक्सानी पुर्‍याएको शुक्लाफाँटा नगरपालिका वडा न . ३ का अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।

वर्षभरिका लागि खान र बेचेर परिवारको गुजारा चलाउनका लागि किसानले लगाएको धानमा हात्तीको बथानले नोक्सानी पुर्‍याएपछि किसानको विजोग भएको उनले बताए । प्रतिवर्ष हात्तीको बथानले यस क्षेत्रका किसानका खेतमा छिरेर बाली पाक्ने बेला नोक्सान पुर्‍याउँदै आएको छ ।

‘पहिला हात्ती खेतमा छिर्नअगावै ठूलोठूलो आवाज निकाल्ने हुँदा जानकारी हुन्थ्यो । भगाउन सजिलो हुन्थ्यो’ स्थानिय किसान चेतराम डगौराले भने ‘गए राति हात्तीको बथान सुटुक्क खेतमा छिरेर धानबाली खाएर निकुञ्जतर्फ फर्कन लागेको बेला मात्रै जानकारी पायौं । खेतमा लगाएको धानबाली जोगाउन सकेनौं ।’

धान पाक्ने अवस्थामै थियो । हात्तीले पूरै खाएर र खुट्टाले कुल्चेर नोक्सान गरेपछि परिवारका लागि अन्नको जोहो कसरी मिलाउने भन्ने चिन्ता थपिएको उनले बताए । हात्ती नियन्त्रणका लागि स्थानीय किसानले विद्युतीय फेन्सिङ तार जडान गरिदिन माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुस