राजु पौडेल, विभिन्न पेशामा आबद्ध व्यक्तिहरूलाई सरकारले हरेक वर्ष पदकले सम्मान गर्छ। पदक वा पुरस्कार पाउने व्यक्ति सम्भवत कुशल क्षमता, पेशामा इमानदार र जवाफदेही छवि नै हो। सरकारी पदक वा पुरस्कार दिँदा हुने छनोट प्रक्रिया कहिल्यै आलोचना विहीन हुन सकेको छैन।

यद्यपि, पुरस्कारका लागि मरिहत्ते गर्नेको सूची भने लामो हुने गरेको छ। यस वर्ष पनि संविधान दिवसका दिन करिब ५ सय ९४ जना विभिन्न पदकले सम्मानित हुने अवसर पाए। तिनै मध्येकी एक हुन्‌ सार्वजनिक स्वास्थ्य अधिकृत पार्वती विष्ट। कोरोना संकटका बेला फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीमध्ये पार्वती पनि एक हुन्‌। पदक पाएपछि उनलाई खुसी नलाग्ने कुरै भएन।

‘सुदूर गाउँमा हुर्किएकी म, पदक पाउने सपना कहिल्यै देखेको थिइनँ, न त यसको हकदार हुँ भन्ने लाग्थ्यो। तर, काम गर्दै जाँदा अनपेक्षित खुसी पनि प्राप्त हुने रहेछन्’, उनले भनिन्, ‘पदकका लागि सिफारिस हुनु गौरवको कुरा हो, त्यो भन्दा बढी काठमाडौं जिल्लाको विपद्‌ व्यवस्थापन केन्द्रले मेरो कामको उच्च मूल्यांकन गरी विभूषणका लागि सिफारिस गर्नु पदकभन्दा ठूलो पुरस्कार थियो। स्वास्थ्यकर्मी भई खटिरहँदा मैले परिवारका लागि कहिल्यै समय दिन पाइन।

२ वर्षे छोरीलाई समय दिन नसकेर सुदूरपश्चिम गाउँ पठाएर २४ सै घण्टा महामारी रोकथाम, नियन्त्रण र व्यवस्थापनमा खटिँदा असल आमा हुन सकिन होला तर, राष्ट्रका लागि म असल जिम्मेवार छोरी बन्ने लक्ष्य सदैव कायम छ।’ राष्ट्रप्रति समर्पित भएर काम गर्दा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकले विभूषित भएकी उनी आगामी दिनमा पनि थप हौसला र उच्च मनोबलका साथ आफूलाई सुम्पेको जिम्मेवारी पूरा गर्न र गराउन यसले थप थप जिम्मेवार बनाएको उनी बताउँछिन्।

‘यो विभूषण मेरो मात्र नभई काठमाडौं जिल्लामा कार्यरत कोभिड-१९को महामारी रोकथाम, नियन्त्रण र व्यवस्थापनमा लाग्ने सम्पूर्ण योद्धाहरू, जिल्ला संकट व्यवस्थापन केन्द्रका सम्पूर्ण आदरणीय व्यक्तिहरू, सम्पूर्ण स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरू, कोभिड अस्पतालका सम्पूर्ण टिम, कोभिड संक्रमितहरू, नर्सहरू, सुरक्षाकर्मी, जनप्रतिनिधि, संचारकर्मी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, ग्लोबल इपिइनर्स टिम, मेरो परिवार, साथीहरू र यस महामारीसँग जुध्न सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूको प्रतिनिधित्व गरेको छ’, उनले भनिन्। विगत १० वर्षदेखि स्वास्थ्य क्षेत्रमा खटिएकी उनी हाल काठमाडौं स्वास्थ्य कार्यालयमा कार्यरत छिन्‌। कोरोनाको बढ्दो जोखिम न्यूनीकरण गर्नका निम्ति काठमाडौं जिल्लाको कोभिड-१९ महामारी व्यवस्थापनको ‘फोकल पर्सन’ भै जिम्मेवारी सम्हालिरहेकी छिन्‌। अहिले उनीजस्तै स्वास्थ्यकर्मी २४ सै घण्टा सक्रिय छन्‌।

 

उनी पनि स्वयं सक्रिय छिन्‌। यस क्षेत्रमा लागेपछि आफ्नो जीवन आफूले सोचे जस्तो हुन्न भन्ने थाहा थियो उनलाई। अहिले पनि परिवार आफन्तलाई समय दिन पाइँदैन। उनलाई यी कुरा सामान्य लाग्छन्। सुदूरपश्चिमको दार्चुला जिल्ला गोकुलेश्वरमा जन्मिएकी सरकारी स्कुलबाट एसएलसी गरि २०६५ सालमा सेती महाकाली नर्सिङ क्याम्पस महेन्द्रनगरबाट पिसिएल नर्सिंङ पूरा गरेकी हुन उनले। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्‍ज नर्सिङ क्याम्पसबाट २०७२ सालमा ब्याचलर्स अफ नर्सिङ पूरा गरिन्‌।

२०६७ सालमा सरकारी सेवामा लागेकी उनी सुरुवाती चरणमा कञ्‍चनपुरको दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरिन्‌। त्यहाँ उनले मातृ तथा नवजात शिशु कार्यक्रम प्रभावकारी बनाउन ठूलो योगदान दिएको र स्वास्थसम्बन्धी विभिन्न राष्ट्रिय अभियानहरूमा सक्रिय भूमिका निर्वाह गरिन्। उनले पूर्ण खोप जिल्ला घोषणा गराउन महत्वपूर्ण योगदान गरेकी थिइन्‌। तीन वर्ष कञ्‍चनपुर जिल्लामा कार्यरत रहदा उनले स्वास्थ्यकर्मीहरू र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई आवश्यकता अनुसार तालिम प्रदान गर्ने, परिवार नियोजन, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, किशोर किशोरी प्रजनन स्वास्थ्य सेवा, पाठेघर खस्ने महिलाहरूलाई रिंग प्रेसरी लगाउने, यौन रोगको उपचार, खोप सेवा प्रदान गर्ने, विभिन्‍न शिविर संचालनमा सहयोग गर्ने लगायत विभिन्न जनचेतनामूलक क्रियाकलापहरूमा आफ्नो सहभागिता साँच्चै अविस्मरणीय रहेको पार्वती बताउँछिन्। त्यसपश्चात उनको यात्रा डडेल्धुरातिर लाग्यो। जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरामा १ वर्ष काम गर्दा उनी प्रजनन स्वास्थ्य कार्यक्रमको फोकल पर्सन भइ काम गरेकी थिइन्।

 

जिल्लाका अति दुर्गम स्थानमा बर्थिङ सेन्टर संचालन गर्न आवश्यक पहल गर्नुको साथै मातृ तथा नवजात शिशु बिरामी र मृत्यु दर कम गर्न विभिन्न कार्यक्रम संचालन गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘स्वास्थ्यकर्मीहरूलाई आवश्यकता अनुसार तालिम दिने, छाउपडी प्रथा विरूद्ध लगायत स्वास्थ्यसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने, सेवाको पहुँचबाट टाढा रहेका समुदायमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने, पूर्ण खोप जिल्ला घोषणा लगायत स्वास्थ्यसम्बन्धी विभिन्न राष्ट्रिय अभियानहरूमा सक्रिय भूमिकामा सरिक थिएँ।’ स्वास्थ्यतर्फ जिल्लाको उत्कृष्ट कर्मचारी भई सम्मानित भएको उनको मानसपटलमा ताजा नै छ। त्यसपछि उनी देशको राजधानी काठमाडौं आएपछि नयाँ ठाउमा आफ्नो पहिचान बनाउने चुनौती थियो। उनी भन्छिन्, ‘नयाँ ठाउँमा आफ्नो पहिचान स्थापित गर्न ठूलो चुनौती हुने रहेछ। नयाँ ठाउँ, नयाँ परिवेश, थप जिम्मेवारी। पार्वतीको बुझाईमा नर्सिङ भनेको ‘कियर’ हो। जहाँ बिरामीको २४ घन्टा हेरचाहको आवश्यकता हुन्छ।

 

नर्स भनेको ज्ञान सीप र व्यवहारको समिश्रण हो। नेपाली समाजले पनि पहिलेभन्दा अहिले नर्सिङ सेवाको महत्व बुझ्दै गैरहेको छ| नर्सहरूले बिरामीको सेवा गर्ने काममा मात्र सीमित नभई जनस्वास्थ्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिइरहेका छन्‌। अहिले उनी प्रत्यक्ष बिरामी हेरचाह गर्ने स्थानमा छैनन्‌। हाल व्यवस्थापनको काम गरिरहेकी छिन्। उनले सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाबाट स्वीकृत सम्पूर्ण कार्यक्रमहरू योजना तर्जुमा र कार्यान्वयन गर्ने तथा काठमाडौं जिल्ला अन्तर्गतका सरकारी तथा निजी संस्थाहरूमा प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजन, सुरक्षित गर्भपतन, किशोर किशोरी कार्यक्रम सुदृढीकरणको लागि सुपरिवेक्षण र अनुगमनका साथै प्राविधिक सहयोग गर्ने ,निजी तथा गैर सरकारी संस्थाहरूको सुपरिवेक्षण र अनुगमन गरी संस्था दर्ता तथा नवीकरण गर्ने र संस्थाको गुणस्तर सुधारको लागि आवश्यक पहल गर्ने, स्वास्थ्यकर्मीहरूको क्षमता अभिबृद्धि गराउन आवश्यकता अनुसार तालिम दिने गरेकी छिन्‌।​काठमाडौं जिल्लामा स्थानीय तहको स्वास्थ्य क्षेत्रसँग प्रभावकारी समन्वय गरी प्रदेश सरकार र संघीय सरकारका निकायहरूसँग नियमित रुपमा सहकार्य र समन्वयकारी भूमिका निभाउने पदमा उनी छिन्।

उनले कोरोना संकटमा फ्रन्टलाइनमा बसेर पनि काम गरिन्‌। यसको उनको आफ्नै छुट्टै अनुभव छ। उनले नेपाल नर्सिङ संघद्वारा संचालित ‘इपिनर्स को एटोट’ लिएपछि विपद्‌ व्यवस्थापनमा सक्रिय हुन प्रेरणा मिलेको र यससम्बन्धी थप ज्ञान, सुझाव र सल्लाह जापानको कोची विश्वविद्यालयका प्रोफेसर कान्बारा सकिको म्याडमले दिने गरेकी बताइन्‌। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को वर्तमान जोखिमपूर्ण समयमा पार्वतीले अग्रपंक्तिमा रही स्थानीय, प्रदेश र संघ सरकारका सबै निकायहरूसँग नियमित सम्पर्क र समन्वय गरिरहेकी छिन्‌।

 

उनी यतिखेर विभिन्न माध्यमबाट महामारी रोकथाम र व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूमा पनि सक्रिय छिन्‌। साथै, विद्यालय नर्सहरू र स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई अनुरोध गरी परिचालन गर्ने गरेकी छिन्। उनी काठमाडौंमा कार्यरत रहेकाले पंक्तिकारले जिज्ञासा राख्यो, ‘यहाँ हरेक दिन कोरोनाका बिरामी बढिरहेका छन्‌। स्वास्थ्यकर्मी दिनरात काम पनि गरिरहेका छन्‌। यद्यपि कोरोना न्यूनीकरण हुन सकिरहेको छैन। आखिर किन त?’ उनी भन्छिन् , ‘उपत्यका जनघनत्व हिसाबले सबैभन्दा ठूलो क्षेत्र हो। जहाँ बढी जनघनत्व हुन्छ, त्यहाँ सरुवा रोग बढी फैलिनु स्वाभाविक नै हो। काठमाडौं हरेक व्यक्ति ठोक्किने ठाउँ हो। यद्यपि, स्वास्थ्यकर्मीले आफ्नोतर्फबाट हरसम्भव कामहरू गरिरहेका छन्‌। अब थोरै जनघनत्व भएको क्षेत्रलाई काठमाडौंसँग तुलना गरेर यहाँ उपलब्धिमूलक काम केही भएको छैन भन्नू स्वास्थ्यकर्मीमाथि अन्याय हुन्छ।’ यस महामारीबाट उन्मुक्ति पाउन लडिरहेका व्यक्तिलाई प्रश्न मात्र होइन उत्प्रेरणा दिन जरुरी रहेको उनी बताउँछिन्। कोरोनाविरुद्ध लड्न आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि उनी अपिल गर्छिन्। थाहाखबरबाट साभार

प्रतिक्रिया दिनुस