काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी(ले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार अखिल क्रान्तिकारीले राष्ट्रिय स्वाधीनता, जनताको जनजीविकाको सवाल, शिक्षा स्वास्थ्य क्षेत्रमा बढ्दो व्यापारीकरण तथा माफियाकरण र हत्या, हिंसा र बलात्कारका घटनामा सरकारलेगरेको गैरजिम्मेवारीपन तथा फासिवादी चरित्रको घोर विरोध गरेका हुन ।
संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा भएकोे विरोध प्रदर्शनमा क्रान्तिकारी विद्यार्थीहरुले सरकारका विरुद्ध चर्को नाराबाजी गरेका थिए । विरोध प्रदर्शनको क्रममा विरोध सभाको समेत आयोजना गरिएको थियो ।

संगठनका महासचिव पेशल दाहालले सञ्चालन गरेको विरोध सभालाई अध्यक्ष गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रिय स्वाधीनता, जनताको जनजीविकाको सवाल, शिक्षा स्वास्थ्य क्षेत्रमा बढ्दो व्यापारीकरण तथा माफियाकरण र हत्या, हिंसा र बलात्कारका घटनामा सरकारले प्रदर्शन गरेको गैरजिम्मेवारीपन तथा फासिवादी चरित्रको घोर विरोध गरेका थिए ।

विद्यार्थी नेताहरुले लिम्पियाधुरासहितको अतिक्रमित भूमि फिर्ता गर्न, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न, शिक्षा र स्वास्थ्यको जिम्मेवारी बहन गर्न र हत्या, बलात्कारका घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन् ।

उनीहरुले राष्ट्रिय स्वाधीनता, जनजीविका तथा महामारी नियन्त्रणमा गैरजिम्मेवारीपनको हद पार गरेको सरकारका प्रधानमन्त्री नैतिकताको आधारमा एक मिनेट पनि प्रधानमन्त्रीको पदमा आसिन रहने अधिकार नभएको भन्दै राजिनामा माग गरे ।

विद्यार्थी नेताहरुले पीसीआर परीक्षण निःशुल्क रुपमा परीक्षण गर्न र परीक्षणको दायरा बढाउन समेत जोडदार माग गरेका थिए । कार्यक्रममा क्रान्तिकारी विद्यार्थी नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस