कञ्चनपुर, अजोज, २०। कृषि विकास बैंकको पाँच करोड रुपैँया ह्याक गर्ने भारतीय नागरिक कञ्चनपुरबाट पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । कृषि विकास बैँकको वित्तीय प्रणाली ह्याक गरेको आरोपमा बनवासा बस्ने ५५ वर्षीय सुसिल गर्गलाई पक्राउ गरेको छ ।
पश्चिमी सिमानाका गड्डाचौकी क्षेत्रबाट भारतको उत्तराखण्ड प्रदेशको चम्पावत जिल्लाको बनवासामा बस्ने गर्ग लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।
गर्गले अनाधिकृत रुपमा विद्युतीय माध्यमको दुरुपयोग गरी वित्तिय प्रणालीमा पहुँच राख्दै विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको आरोप लागेको प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाले बताए ।
उनी बनबासा मिना बजारमा चप्पलको व्यापार गर्छन् । जिल्ला अदालत काठमाडौंले बैंकिङ कसुर र संगठित अपराध लगायतका मुद्धामा २०७६ असार ७ गते उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी गरेको थियो । सो घटनामा उनकै भतिजा अन्नु भनिने अनुज गर्ग भने अझै फरार छन् ।
महेन्द्रनगरको बनगाउँका यज्ञराज भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेपछि उनकै बयानका आधारमा शुसिल पक्राउ परेका हुन् ।गर्गलाई पक्राउ गरी महानगरिय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाईएको प्रहरी नायब उपरिक्षक थापाले बताए ।