पहिलाद राना, कञ्चनपुर, असोज २३ । विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई कञ्चनपुर प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, आदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरि रहेको हो । अहिले कोरोना महामारी चलिरहेका बेलामा पनि कञ्चनपुर प्रहरीले फरार अभियुक्तलाई जोखिम मोलेर पक्राउ गरि सम्बन्धीत निकायमा पेश गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको तीन महिनाको अवधिमा ४५ जना फरार अभियुक्त पक्राउ परेका छन् ।
४ साउनदेखि २२ असोजसम्म विभिन्न प्रकृतिका अपराध गरेर फरार रहेका अभियुक्त पक्राउ परेका हुन् । साउनमा ८, भदौँमा १५ र असोजमा २२ जना फरार अभियुक्त पक्राउ परेका छन् ।कञ्चनपुर प्रहरी प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले आदालतबाट कैद तोकिएका, अपराध गरेर गाँउघरमा लुकिछीपी बसेकाहरुलाई पक्राउ गरि सम्बन्धीत निकायमा पेश गरिएको बताए । प्रवक्ता थापाका अनुसार चोरी, डकैती, कर्तव्य जान, बलात्कार, सामुहिक बलात्कार, सवारी ज्यान, लागु औषध, कुटपिट, अवैध मुद्रा, झुटा बकपत्र, चेक अनादर, वन चोरी तस्करी, आत्महत्या दुरुत्साहन, अपहरण शरिर बन्धक, बहु विवाह लगागयत विभिन्न प्रकृतिका अपराध गरेर अभियुक्त पक्राउ परेका छन् ।
‘यसबाट एकातिर आदालतको फैसला कार्यान्वयन हुन्छ, ‘प्रवक्ता थापाले भने, ‘अर्कातिर एक पटक अपराध गरेका व्यक्तिले अर्को पटक अपराध गर्न पाउँदैनन् ।’ शान्ति सुरक्षा एव अमन चयनका लागि समेत अपराध गरेका व्यक्तिलाई कानुनी दायरामा ल्याउनका लागि सो कार्य गरिएको प्रवक्ता थापाले बताए । अपराध गरेर उन्मुक्ती पाईन्छ, भन्ने मानसिकता बोकेका अपराधीका लागि पक्राउबाट मुक्ती पाईन्छ भन्ने सोच फगत हुन्छ । प्रहरीको कार्य सकारात्मक भएको स्थानीयको टिप्पणी छ ।