काठमाण्डौ–भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज नेपाल आउँदै हुनुहुन्छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो। भारतीय सेनाको विशेष विमानमार्फत उहाँ र उहाँकी श्रीमतीसहित ४ सदस्यीय टोली दिउँसो काठमाण्डौ आईपुग्नुहुने कार्यक्रम छ।

उहाँलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ। नेपालका प्रधानसेनापति थापाले पनि यसअघि २०७५ सालको पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्नुभएको थियो। नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ।

उहाँलाई राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग चिन्ह र प्रमाणपत्र प्रदान गर्नुहुने कार्यक्रममा रहेको छ। नक्सा विवादका कारण केही महिनादेखि नेपाल र भारतबीच औपचाकि रुपमा राजनीतिक तहमा छलफल नभईरहेको समयमा उहाँले नेपाल भ्रमण गर्न लाग्नुभएको हो।

नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिनुभएका नरवणेको नेपाल भ्रमणलाई लक्षित गरेर सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाईएको छ। भ्रमणको पहिलो दिन आजका लागि भने कुनै औपचारिक कार्यक्रम तय नभएको नेपाली सेनाले जनाएको छ। भोलि भने उहाँ दिनभर नै व्यस्त हुनुहुनेछ। उहाँ ४ दिने भ्रमण पूरा गरेर भारत फर्कनुहुनेछ।

प्रतिक्रिया दिनुस