१९ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ ।
नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ । उनलाई सोल्टी होटलमा लगिएको छ। नरवणेको गाडीको अगाडि(पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले स्कर्टिङ गरेको छ। सुरक्षा चुनौतीका कारण पछाडि नेपाल प्रहरीको एउटा टोली पनि रहेको छ।
नरवणेले सीमा विवाद चर्किएका बेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए । त्यसैले उनलाई नेपालमा सुरक्षा चुनौती रहेको विश्लेषण नेपाली सेना, नेपालस्थित भारतीय दूतावासलगायतको विश्लेषण छ । नरवणेलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन गर्ने, कफन बाँधेर बस्ने जस्ता गतिविधि हुनसक्ने विश्लेषण सुरक्षा अधिकृतहरुले गरेका हुन् ।
त्यसैले उनको भ्रमणको पूर्वसन्ध्यामा चेकजाँचमा कडाइ गरिएको थियो भने अहिले उपत्यकामा व्यापक रुपमा सादा पोशाकमा प्रहरी टोली परिचालित गरिएको छ ।