महेन्द्रनगर २३, कार्तिक–सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले यस वर्षका बाँकी परीक्षा पनि अनलाइन मार्फत लिने भएको छ। कोरोना महामारीका कारण स्थिती भयावह हुन नदिन विश्वविद्यालयले आगामी परीक्षा पनि अनलाइन मार्फत नै लिने भएको हो।

यस अघि स्नातक तहका प्रथम र तेस्रो सेमिष्टर, बिबिएस चौथो वर्षका परीक्षा अनलाइन मार्फत लिएको विश्वविद्यालयले आगामी मङ्सिर दोस्रो साता भित्रै स्नातक तहका बिए र बिएड पाँचौँ समेष्टिर र बिबिएस तेस्रो वर्षका परीक्षा लिइने जानकारी दिएको छ।

स्नातकोत्तर प्रथम र पाँचौँ सेमिष्टरका परीक्षा पनि सोही मिति देखी अनलाइन मार्फत सुचारु गरिने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा अम्मरराज जोशीले जानकारी दिए। उनले सम्भव तह मङ्सिर १० गते देखी परीक्षा लिइने जनाए।

तर त्यसपछि बिबिएस दोस्रो र प्रथम तथा अन्य बाँकी रहेका परीक्षा भने अनलाइन बाट लिने कि विश्वविद्यालय मै उपस्थित गराउने भन्ने चिन्ताजनक रहेको परीक्षा नियन्त्रक देव सिंह नाथले बताए। ‘यस अघि लिइएका अनलाइन परीक्षा परीक्षार्थीहरुले सामूहिक रूपमा दिएको पाइयो।’ उनले भने,–‘नियन्त्रणका उपायहरू खोजीगरीरहेका छौ।’

विद्यार्थीहरूले सामूहीकरुपमा परीक्षा दिँदा उत्तर पुस्तिकामा ‘हुबहु’ समेत सारेको पाइएको उनले बताए। यस्तो अवस्थामा प्राप्ताङ्क चढाउँदा छलफल गरिने उनले बताए। उनले आउदो परीक्षा मङ्सिर १० गते देखी लिने गरी तयारी अगाडी बढाइएको कालापानी खबरलाई बताए। तर संक्रामक रोगको असरलाई मध्यनजर गर्दे बाँकी रहने परीक्षा माग–फागुनमा लिइने उनले बताए।

कोरोना भाइरसको असर कम हुँदै गए त्यसपछिका परीक्षा विश्वविद्यालयमै उपस्थित गराएर पनि लिने सकिने उनले बताए।
तर आन्तरिक मूल्याङ्कनमा भने अनलाइन बाटै यस वर्षका परीक्षा लिने छलफल भएको परीक्षा नियन्त्रक नाथले बताए।

प्रतिक्रिया दिनुस