सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ५० बेडको थप एउटा कोरोना उपचार भवन निर्माण गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यसअघि निर्माण गरेको भवननजिकै अर्को भवन निर्माणको तयारी गरिएको जानकारी दिएको हो।

मन्त्रालयको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले इन्जिनियर बोलाएर लागत र समय कति लाग्छ भन्ने विषयमा छलफल भएको बताए। ‘इन्जिनियरले साइट हेर्नुभएको छ। लागत र समयका बारेमा उहाँहरूले विवरण दिने बित्तिकै निर्माण प्रकृया सुरू हुन्छ,’ उनले भने। सेती प्रादेशिक अस्पतालमा अहिले कोरोना संक्रमितको उपचारका लागि उपचारका लागि ५० बेडको छुट्टै भवन बनाइएको छ।

त्यहाँ सोमबार ५१ जना बिरामी राख्नुपरेको थियो। प्रादेशिक अस्पतालमा बेड अभाव भएपछि थप्ने प्रक्रिया अघि बढेको मन्त्रालयको भनाइ छ। भवन बन्न ढिला हुने अवस्था आए अस्पतालमै रहेको पुरानो भवनमा बिरामी राख्ने तयारी गरिएको कार्कीले बताए।

अहिले कैलालीको सेती प्रादेशिक अस्पतालमा ५०, टीकापुर अस्पतालमा ५०, भजनी स्वास्थ्य चौकीमा ४, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा ५ र मालाखेती अस्पतालमा २० गरी जम्मा १२९ आइसोलेसन बेड छन्। तीमध्ये ६७ बेडमा बिरामीको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुस