सुदूरपश्चिम प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न ५ वटा प्रयोगशालामा ३ सय ७७ जनाको कोरोना परीक्षण गरिएकोमा ५६ जनामा पोजेटिभ देखिएको हो। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९५ जनाको परीक्षण गर्दा  ३६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, यस्तै बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र वेदकोट नगरपालिकाका १र१ जनामा समेत कोरोना पुष्टि भएको छ । त्यस्तै कैलालीको धनगढी उप–महानगरपालिकाको वडा नम्बर ५ का ९ जना, वडा नम्बर २ का ५ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर ३, ७ र १२ का एक एक जनामा सङ्क्रमण पुष्टि भएको हो। कैलालीकै गोदावरी नगरपालिकाका ५ जना  र लम्किचुहा नगरपालिकाका ४ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
उता डडेल्धुराका २ जना र डोटीको केआईसिह गाउँपालिका–६ का एक जनामा पनि सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। यस्तै, जिल्ला अस्पताल बझाङमा ६७ जनाको परीक्षण गर्दा १० जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ५३ जनाको परीक्षण गर्दा ८ जना र जिल्ला अस्पताल डोटी प्रयोगशालामा २२ जनाको परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिह कार्कीले बताए।
अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा १५ जनाको परीक्षण गरे पनि सबैको रिर्पोट नेगेटिभ आएको छ। यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ६ सय ५२ पुगेको छ। प्रदेशभर सङ्क्रमण पुष्टि भएका झन्डै ८ हजार ५ सय जनाले कोरोना जितेका छन्  भने ४२ जनाले ज्यान गुमाई सकेका छन्।
प्रतिक्रिया दिनुस