कञ्चनपुरमा सैनिक जवान विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ। जिल्लाको भीमदत्तनगरपालिका–११ भुजेलाका काशी सार्कीको परिवारले नेपाली सेनाका जवान सुनिल सार्की सहित ५ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका हुन्।
जग्गा सम्बन्धीको विवादमा सैनिक जवान सार्कीले पन्जाले काशीको टाउकोमा हिर्काएको पीडित परिवारले प्रहरीलाई जाहेर गरेका छन्।
गत शुक्रवार साँझ काशी सार्कीले खेतबाट बाटो प्रयोग गर्न नदिने बताएपछि देवी सार्की लगायतको समूहले उनीहरूमाथि कुटपिट गरेको हो।
केही दिनअघि देवी सहितको समूहले टर्सरी भएर बाटो बनाउन नदिएपछि उनीहरूले पनि खेतको बाटो प्रयोग नगर्न चेतावनी दिएका थिए। त्यसलाई बेवास्ता गरी देवी सार्कीले प्रयोग गरेपछि विवाद बढेको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको छ। धनगढीमा सम्भव नभएपछि उनको कोहलपुरमा उपचार भइरहेको छ।
प्रहरी कार्यालयमा जाहेरी परेपछि देवी सार्की, राजु सार्की र मदनराज सार्की पक्राउ परेका छन्। सैनिक जवान र रेखा सार्की फरार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए। उनिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुस