२६ कात्तिक बैतडी–महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका चार जना नेपालीलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । सीमा नाका बन्द भएको बेला ट्युबबाट भारत गयरहेका चारजनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए ।

मजदुरीका लागि भारत गएका उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । अवैध रुपमा भारत प्रवेश गरेको भन्दै बझाङका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरबहादुर बोहरालाई पक्राउ गरिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय पत्रकार भट्टले जानकारी दिए । पक्राउ परेका चारैजनालाई आज अदालतमा पेश गरिने उनले बताए ।

सीमा नाका झुलाघाट बन्द हुँदा रोजगारीका लागि भारत जानेहरु महाकालीमा ट्युब मार्फत जाने गरेका छन्। स्वदेशमा रोजगारी नपाएको भन्दै सैयौं मजदुर कोरोना कहरकाबीच भारत गइरहेका छन् । झुलाघाट नाका बन्द हुँदा उनीहरु महाकालीमा ट्युबमार्फत तरेर भारत जाने गरेका छन् । ट्युबमार्फत भारत प्रवेश गरेकाहरुलाई भारतीय प्रहरीले अवैध रुपमा प्रवेश गरेको भन्दै पक्राउ गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुस