बैतडीमा कर्मचारी अभावले इलाका प्रशासनको सेवा बन्द भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको हो।

इलाका प्रशासन कार्यालयमा गएको तीन महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका सबै काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। नेगीका अनुसार इलाका प्रशासन कार्यालयमा भदौदेखि शाखा अधिकृत नभएपछि सेवा अवरुद्ध भएको छ।

एकजना शाखा अधिकृत, दुईजना नायब सुब्बा, एकजना सहलेखापाल, एकजना सहायक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा अहिले एकजना नायब सुब्बा र एकजना कार्यालय सहयोगी मात्रै रहेका छन्। २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारी अभावले सेवा प्रभावित हुँदै आएको छ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना खुलेकाले नेपाली नागरिकता लिनेको संख्या बढ्दै गएको छ । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा आफूहरुलाई निकै समस्या भएको पुर्चौंडी नगरपालिका ८ का हेमन्त बोहराले बताए। नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीबासीहरुले सदरमुकाम धाउनु परेको उनले गुनासो गरे।

प्रतिक्रिया दिनुस