बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ८ खोड्पेमा बिहिबार राती बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो। बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो।
सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतकहरूको सनाखत हुन बाँकी रहेको छ। मृतक मध्ये ७ जना पुरुष र २ जना महिला रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए।
मृतक मध्ये ८ जनाको शव घटनास्थलबाट निकालिएको छ भने एक जनाको बससँगै अड्किएकाले निकाल्ने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरूको उद्धार गरेका हुन्। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएका अधिकारीले बताए। बस चालक विरेन्द्र सिह कार्की घाइते रहेको प्रहरीले जनाएको छ। उनिसहित घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
तिहारको समयमा ठुलो दुर्घटना भएपछि बैतडीवासी शोकमग्न भएका छन्। दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भई नसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुस