आज यमपञ्चकको तेस्रो दिन । कात्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरि लक्ष्मीपूजा पर्व मनाइँदैछ । आजै कुकुर तिहार समेत परेको हुनाले कुकुरलाई समेत पुजा गरिँदैछ । नेपाली समाजमा गाईलाई लक्ष्मीको प्रतिकको रुपमा लिईन्छ ।

त्यसकारण यस दिनलाई गाई पुजाले समेत चिनिन्छ । गाईलाई पुजा समेत गर्ने चलन छ । विशेषगरी लक्ष्मी पुजामा सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता छ । जसले गर्दा बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यो दिन विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

सुखरात्रिको पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा–आराधना गरिन्छ ।

प्रतिक्रिया दिनुस