सुदूरपश्चिममा सवारी दुर्घटना बढेको छ। ट्राफिक प्रहरीले थालेको सचेतना अभियान कै क्रममा सवारी दुर्घटनामा वृद्धि भएको पाइएको हो।

पछिल्लो दसैँ–दीपावलीमा सुदूरपश्चिमका ६ जिल्लामा भएका सवारी दुर्घटनामा २८ जनाले ज्यान गुमाएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको हो। कार्तिक १ गते देखीको तथ्थांक अनुसार कैलालीमा ४५ सवारी दुर्घटनामा परेकोमा ७ पुरुष र तिन महिला गरी १० जनाले ज्यान गुमाएका छन्।

त्यस्तै कञ्चनपुरमा ४ सवारी दुर्घटनामा ३ पुरुषले ज्यान गुमाएका छन्। बैतडीमा ४ सवारी दुर्घटनामा ९ पुरुष, ३ महिला र एक बालक गरी १२ जनाले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीकार्यालयले जानकारी दिएको छ।

डोटीमा ४ सवारी दुर्घटनामा एक, दार्चुलामा एक सवारी दुर्घटनामा एक र बाजुरामा एक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको हो। पछिल्लो कार्तिक यता डडेल्धुरा २ र अछाममा ३ सवारी दुर्घटनामा परेका छन्। बझाङमा सवारी दुर्घटना नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।

बैतडीमा भएको दुर्घटना भयावह

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बैतडीमा भएको दुर्घटना भयावह रहेको जनाएको छ। गत कात्तिक २७ गते राती खोडपेमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको थियो भने ३४ जना घाइते भएका थिए।

यस वर्ष ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त गस्ती, मापसे जाँच र सर्प्राइज चेकिङ थालेपनी सवारी दुर्घटना भन्दा मृतकको सङ्ख्या बढेको पाइएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले सवारी दुर्घटना भन्दा ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भएको बताए। उनले बैतडीमा भएको बस दुर्घटनाले मृत्युदर बढेको बताए।

सवारी दुर्घटनामा हुनुमा चालकको लापरबाही नै प्रमुख कारण भएको उनले बताए। तर यस वर्ष ल्याइएका सुरक्षा योजनाले सवारी दुर्घटना भने न्यूनीकरण भएको उनले दाबी गरे।

प्रदेशभरि पछिल्लो कार्तिक महिना यता ७१ सवारी दुर्घटनामा परेकोमा ७८ जना गम्भीर घाइते र ४४ जना साधारण घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। ट्राफिक प्रहरीले संयुक्त गस्ती, मापसे जाँच र सर्प्राइज चेकिङबाट ३३ लाख ६४ हजार राजश्व समेत सङ्कलन गरेको छ।

प्रतिक्रिया दिनुस