नेपालमा पहिलोपटक यात्रुवाहक सार्वजनिक यातायात प्रविधिमार्फत (अनलाइन) नियमन गर्ने प्रणाली सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले सो प्रणाली (अनलाइन टिकटिङ मोनिटरिङ सिस्टम) को उद्घाटन गरे। सार्वजनिक यातायातमा टिकट खरिद(बिक्रीमा रहेका विकृत्ति हटाउनका लागि प्रणालीले सहयोग गर्न विश्वास लिइएको छ।

प्रणालीमार्फत यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत नियामक निकायले कार्यालयबाट नै सवारीसाधनको नियमन गर्न सक्नेछन्। यातायात कम्पनी प्रणालीमा आबद्ध भएपछि सार्वजनिक सवारीसाधन कुन रुटमा, कति बजे छुट्ने, कति यात्रु र ककसले टिकट काटे, यात्रुको सम्पर्क नम्बरसमेत जानकारी पाउन सकिन्छ।

मन्त्री नेम्वाङले सार्वजनिक यातायातलाई पारदर्शी र जवाफदेही बनाउन प्रविधिको प्रयोगले सहयोग गर्न विश्वास व्यक्त गरे। सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक प्रतिनिधिसभामा छलफलको क्रममा छ। मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले विगतमा सार्वजनिक सवारीसाधन दुर्घटना हुँदा त्यसमा कति यात्रु थिए भन्नेसमेत जानकारी नहुने गरेको बताए।

उनका अनुसार अनलाइन मोनिटरिङले गर्दा कुनै पनि कम्पनीले टिकट भएर नदिएको वा नभएर नदिएकोदेखि एउटै सिटको टिकट धेरै यात्रुलाई दिएको भए पनि त्यसको जानकारी हुनेछ। विभागले अहिले यातायात व्यवस्थापनमा केन्द्रित भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुस