बैतडीमा पानीको मुहानमा ११ गाई मृत फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका –६ स्थित खानेपानीको मुहानमा ११ गाई मरेको फेला परेपछि ८० घरपरिवार समस्यामा परेका हुन्। सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मुहानमा गाई मृत अवस्थामा भेटिएको स्थानीयले जनाएका छन्।
खानेपानीको मुहानमा मरेका गाई फेला परेपछि पुर्चौंडी नगरपालिका वडा नं ६ को मुडेलीका ८० घरपरिवार र एक विद्यालयमा खानेपानीको समस्या भएको हो।
गाउँमा आउने खानेपानीको मुहानमा गाई मरेका भेटिएपछि गाउँमा खानेपानीको समस्या भएको स्थानीय सीता साउदले बताइन्। उनले दुर्गन्ध समेत फैलिएको गुनासो गरिन्।
पुर्चौंडी नगरपालिकाको कुवाकोट–सुवालेक सडक खण्ड नजिकै रहेको पानीको मुहानमा गाई मृत अवस्थामा भेटिएकाले सडकबाटै गाईलाई फालिएको हुन सक्ने स्थानीयहरूले अनुमान गरेका छन्। मरेका गाई पाटन नगरपालिकाबाट पुर्चौंडीकै लक्ष्मण पार्की र सुरेन्द्र पार्कीले लगेको बुझिएको छ।
पाटन नगरपालिकाले छाडा गाई गोरु व्यवस्थापनका लागि प्रति गाई २ हजार ५ सयका दरले ती व्यक्तिहरूको जिम्मा लगाएको र उनीहरूले ताक्लाकोट लग्ने भनेर नगरपालिकाबाट लगेको नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले जानकारी दिइन्।
पानीको मुहानमा मृत अवस्थामा गाई भेटिएपछि प्रहरी टोली त्यस तर्फ जाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालयका पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी बताए।
पानीको मुहानमै गाईहरू मृत भेटिएपछि मुडेलीस्थित पञ्चकन्या आधारभूत विद्यालयका बालबालिकाहरूलाई समेत खानेपानीको समस्या भएको छ।
प्रतिक्रिया दिनुस