बैतडीमा गौहत्यागरेको आसंकामा प्रहरीले एक जना लाइ पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी नगरपालिका – ६ स्थित खानेपानीको मूहानमा ११ ओटा मरेका गाई फेला परेपछि प्रहरीले सोही नगरपालिका–५ का २४ बर्षीय लक्ष्मण पार्कीलाई पक्राउ गरेको हो। पार्कीलाइ नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक चन्द्र गिरीले जानकारी दिए।

यस्तै सोही कार्यमा सलंग्न रहेको आशंका गरिएको पुर्चौंडी नगरपालिका ५ का सुरेश पार्की फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी गरीरहेको प्रहरी निरीक्षक गिरीले बताए। पक्राउ परेका पार्कीमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरेको छ। पाटन नगरपालिकाबाट प्रति गाई २ हजार ५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ।

नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि दुवै जनालाई प्रतिगाई २ हजार ५ सयका दरले रकम तिरेर २९ छाडा गाई जिम्मा लगाएका थिए। गाईको जिम्मा लिएर लगेका ती दुवै व्यक्तिले गाई खसालेर भीरबाट गाई खसालेपछि ती गाई पानीको मूहान परेका थिए। पानीको मूहानमा ११ ओटा गाई मृत फेला परेपछि पुर्चौंडी नगरपालिका वडा नं ६ मुडेलीका ८० घरपरिवार र एक विद्यालयमा खानेपानीको समस्या भएको छ।

मूहानमा गाई मरेपछि गाउँमा खानेपानीको समस्या भएको स्थानीय सीता साउँदले जानकारी दिए। यसैबीच पाटन नगरपालिकाबाट ल्याएका पानीको मूहानमा मरेको अवस्थामा फेला परेपछि पाटन नगरपालिकाले ती गाईको व्यवस्थापन गर्ने भएको छ। शुक्रवार पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका जनप्रतिनिधिहरुबीच छलफल भएपछि मूहानमा मारेर फालिएका गाईको पाटन नगरपालिकाले व्यवस्थापन गर्ने सहमति भएको पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले बताएकी छन्। भोली सम्म मरेका गाईहरुलाई खाल्डोमा गाडेर व्यवस्थापन गरिने र पानीको मूहानलाई सफा गरिने उनले बताइन्।

प्रतिक्रिया दिनुस