कोरोना कहरले लामो समयदेखि बन्द रहेका बैतडीका विद्यालयमा पठनपाठन कार्य सुचारु हुन थालेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन्। लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन कार्य प्रभावित भएको भन्दै विद्यालय सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेश प्रसाद भट्टले बताए।

गाउँपालिकाको गाउँ शिक्षा समिति र माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन्। कक्षा १ देखि १० सम्मका विद्यालयहरु आज देखि सञ्चालनमा आएका र कक्षा १ देखि १२ सम्मका विद्यालयमा कक्षा १२ को परीक्षा परिक्षा केन्द्र रहने विद्यालयमा मंसिर १८ देखि सञ्चालनमा आउने जनाईएको छ।

विद्यालय सञ्चालनमा रहेका बेला सेवाक्षेत्रभित्र वा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकमा कोरोना देखिएमा अवस्था हेरेर विद्यालयले निर्णय गरेर विद्यालय बन्द गर्न सक्ने गाउँपालिकाले जनाएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकोले नियमित रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए। दोगडाकेदार गाउँपालिकामा ५९ सामुदायिक र ३ संस्थागत विद्यालयमा गरि ८ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

प्रतिक्रिया दिनुस