कोभिड–१९ को संक्रमणका बीच आजदेखि मुलुकभर कक्षा १२ को परीक्षा सुरु भएको छ। गत वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीले गर्दा रोकिएको थियो। स्वास्थ्य मापदण्ड अनुसारको परीक्षा संचालन भईरहेको सदस्य सचिब दुर्गा प्रसाद अर्यालले बताए । बोर्डका अनुसार परिक्षा बिहान ८ बजे देखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुने छ । बोर्डका अनुसार कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ ।

यस्तै कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ । कूल पूर्णाङ्कमध्ये ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ । कार्यविधि अनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने बताइएको छ । बोर्डका अनुसार प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क रहेका छन ।

डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्ने बोर्डले जनाएको छ । परीक्षा सम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालय लगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन भईरहेको छ । परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुने जनाईएको छ । परीक्षा १६ गते सकिने छ ।

प्रतिक्रिया दिनुस