बैतडीमा मंगलबार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीय कलावती चन्द, पाटन नगरपालिका ५ का ७७ बर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ बर्षीय पार्वती चन्द,पाटन नगरपालिका ५ का ७० बर्षीय पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ बर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। तीव्र गतिमा रहेका जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करीब एक सय मिटर तल खसेको छ ।

दुर्घटना परेर जिप चालक गोपाल कार्कीको टाउको चोट लागेको उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ ।

प्रतिक्रिया दिनुस