कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा मंगलबार देखि ११ दिनका लागि ‘लकडाउन’ गरिएको छ। गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिए।

उनले गाउँपालिकामा अहिले १६ जना सक्रिय संक्रमित रहेका बताए। मंसिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी–साधन सञ्चालनमा रोक लगाइनुका साथै गाउँपालिकाका सातओटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

पछिल्लो समय डिलाशैनीमा समुदायस्तरमै कोरोना फैलिएको शंका गरिएको छ। यसअघि, जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मंसिर २२ सम्म लकडाउन गरेको छ। बैतडीमा हालसम्म ५६८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एकजनाको मृत्यु भइसकेको छ।

संक्रमितमध्ये ४९९ जनाले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुस