नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ। कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयमा मंगलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी बैतडीले जनाएको हो।
दशरथचन्द नगरपालिकाले मंसिर २२ गते सम्मका लागि लकडाउन गरेकाले सोही दिन सम्म रेडक्रसले शाखा मार्फत दिइने सेवा बन्द गर्ने निर्णय गरेको सोसाइटीका जिल्ला कार्यसमिति सदस्य तेजप्रकाश भट्टले बताए। रेडक्रस बैतडीले एक सूचना जारी गर्दै आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको हो।
यसैबीच नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम अधिकृत पाण्डेयले आफनो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। आफूमा समान्य लक्षण देखिएपछि कोरोना परीक्षण गरेको र रिपोट पोजेटिभ आएकाले अहिले आफू आइसोलेसनमा बसीरहेको उनले बताए। पछिल्लो एक हप्ता सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न उनले विषेश आग्रह गरे।