नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले मंगलबारकै सचिवालय बैठकमा बुधबार कार्य व्यस्तताका कारण उपस्थित हुन नसक्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले कार्य व्यस्तताबारे जानकारी गराउँदा गराउँदै पनि अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबारका लागि बैठक राखेपछि ओली असन्तुष्ट भएका थिए ।

बैठक राख्ने विषयमै मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद झन्झन् चर्किँदै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नआएपछि सचिवालय बैठक २० मंसिरसम्मका लागि सारिएको छ ।

२० मंसिरमा सचिवालय बैठक बस्ने निर्णय भएपछि यसअघि नै १८ मंसिरका लागि तय भएको स्थायी कमिटी बैठक २१ मंसिरका लागि सारिएको छ ।

स्थायी कमिटी बैठक २१ मंसिरमा स¥यो
बुधबार बैठक हुनुअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई बुधबार आफू बैठकमा आउन नसक्ने बताउँदा बताउँदै पनि किन बैठक राख्नुभएको हो भनी प्रश्न गरेका थिए। पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि सबैको सहमतिमा बैठक राख्नुपर्ने अडान लिएपछि बुधबारको बैठकलाई अनौपचारिक रूपमै सम्पन्न गरिएको थियो। महासचिव पौडेलले विधि, पद्धति र सहमतिकै आधारमा पार्टीका बैठक बस्नुपर्ने बताए।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री बैठकमा सहभागी नभएपछि अर्को बैठक आउँदो शनिबार (२० मंसिरमा) बस्ने गरी निर्णय भएको बताए। सो बैठकमा अध्यक्ष ओलीलाई अनिर्वाय उपस्थितिका लागि अपेक्षासहित अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए। २० मंसिरको सचिवालय बैठक सहमतिकै आधारमा निर्धारण गरिएकाले सो बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने ओली निकट स्रोतले जानकारी दिएको छ।

पार्टी अहिले गम्भीर र संवेदनशील मोडमा रहेकाले अहिले असामान्य परिस्थितिमा संवेदनशील रूपमा छलफल र बहसको प्रक्रिया अगाडि बढाउन र निर्णय लिन उचित हुन्छ भन्नेमै आफूहरू विश्वस्त रहेको प्रवक्ता श्रेष्ठले बताए। आउँदो बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएर पार्टीको विवाद समाधान गर्न छलफलमा सहभागी हुने विश्वास उनले व्यक्त गरे।

सचिवालय बैठक बस्नुअघि बुधबार बिहान अध्यक्ष ओलीले बालुवाटारमा र अर्का अध्यक्ष पुष्पकमल दाहालले खुमलटारमा आफू निकटका नेताहरूसँग छलफल गरेका थिए। बालुवाटार छलफलमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतको सहभागिता रहेको नेकपा स्रोतले जनाएको छ।

उता खुमलटारमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य श्रेष्ठसहितका नेताहरूले बैठक राख्नुपर्ने निष्कर्ष निकालेका थिए। २८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले सचिवालयका बहुमत सदस्यहरूको समर्थनमा ओलीमाथि गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेका थिए। दाहालले पेस गरेको प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिँदै ओलीले त्यो फिर्ता हुनुपर्ने र दाहालले माफी माग्नुपर्ने अडानमा रहेका छन्।

त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले अर्को प्रस्ताव पेस गर्दै दाहालमाथि विभिन्न आरोप लगाउनुका साथै गम्भीर प्रश्नहरू तेर्साएका छन्। नेकपा वरिष्ठ नेता खनालले पार्टीभित्र छलफल गरेर सहमतिमै अगाडि बढ्ने तर कोही कसैको फरक मत आए अल्पमत बहुमतकै आधारण बैठकले निर्णय गर्ने बताए। सबैको सहभागितामै छलफल र निर्णय हुनुपर्ने आफूहरूको अपेक्षा भए पनि कोही अनुपस्थिति भए बैठक धेरै परसम्म सार्न नमिल्ने उनले बताए। तर, ओली निकट नेताका अनुसार पार्टी एकताका बाँकी काम टुंगो लगाउने, समृद्धि तथा विकासका बारेमा छलफल गर्ने हो भने बैठकमा आउने अन्यथा नआउने अडानमा प्रधानमन्त्री रहेका छन्।

‘सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउन, समृद्धि, विकासलगायतका एजेन्डामा छलफल भए म आउने नभए तपाईंहरूका पूर्वनिर्धारित एजेन्डा पारित गर्न किन आउनुप¥यो’ ओलीको भनाइ उद्धृत गर्दै उनी निकटका ती नेताले भने, ‘तपाईंहरू बसेर निर्णय गर्नुस्, त्यसपछि के गर्ने हो म गरुँला।’ ओली कुनै पनि हालतमा अल्पमत र बहुमतको प्रक्रियामा जान चाहेका छैनन्।

प्रतिक्रिया दिनुस