बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर फरार भएका छन्। जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्रहरीले जनाएको हो।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले उमेर कम भएका कारण बोहरालाइ सुधार गृहमा राखिएको बताए। तर कोरोना पोजेटिभ पनि देखिएकाले बोहरालाई जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएको थियो। बोहरा आइसोलेसनबाटै फरार भएको उनले बताए। बोहोरा भागेपछि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
बोहोरा गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। तर उमेर कम भएका कारण बोहरालाई बाल सुधार गृहमा राखिएको थियो। बोहराले सम्झनाको हत्या गर्नु पूर्व मस्टाकै १४ बर्सिया बालिकामाथि समेत जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको थियो। सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो। उनीहरू धरौटीमा छुटेका छन्।
प्रतिक्रिया दिनुस