आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदैछ। १९९६ सालमा असोज १८ गते काठमाण्डौको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो। आफ्नो गायकीबाट सबैलाई आकर्षण गरेका उनले स्वर सम्राटको उपाधि पनि पाएका छन्।
२०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिए। उनले आफ्नो गायन यात्रामा नेपाली भाषाका मात्रै एक सय ३५ भन्दा धेरै गीत गाएको रेकर्ड छ। नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिएका छन्।
यस्तै, उनले नेपाल भाषाका पनि गीत गाएका छन्। २०१३ सालमा दुर्गालाला श्रेष्ठको नाटकबाट दृष्टिविहीन व्यक्तिको भूमिकामा अभिनय गर्दै रंगमञ्चमा प्रवेश गरेका उनले २०१८ साल पछि गायनमा सक्रिय भएका थिए। नारायण गोपाल २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकारका रुपमा पुुरुस्कृत हुनु भएका थिए भने २०२४ सालमा सर्वोत्कृष्ट गायकको पुरस्कार पाएका थिए।
यस्तै, २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्य लक्ष्मी पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार र २०४५ सालमा जगदम्बा श्री पुरस्कारबाट सम्मानित भएका थिए। जगदम्बा पुरस्कारबाट सम्मानित हुने उनि नै पहिलो गायक भएका गीत सङ्गीत क्षेत्रका ज्ञाता प्रकाश सायमीले बताए। नारायण गोपालले गाएका धेरै गीतमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ।
उनले गाएका गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला, मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जानलाग्यो लगायतका गीत लोकप्रिय र अजरअमर छन्।