जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर सहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना भएको हो।
जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले कोरोना भाइरसका जटिल खालका बिरामीहरूलाई मध्यनजर गरेर भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना गरिएको जानकारी दिए।
तर अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना भए पनि सञ्चालनमा भने समस्या हुने भएको छ। आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा. जोशीले बताए। आइसियु सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आइसियु सञ्चालनमा समस्या आउने उनले बताए।
कोरोनाका गम्भीर बिरामीहरूलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालहरूमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापनाका लागि उपकरण पठाएको थियो। उपकरणसँगै दक्ष जनशक्ति पनि आवश्यक पर्ने भए पनि दक्ष जनशक्ति नपठाउँदा आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ।
प्रतिक्रिया दिनुस