बालिका बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परे पनि प्रहरीको आँखा छलेर भागेका बझाङका एक किशोरलाई प्रहरीले डोटीबाट पक्राउ गरेको छ । बझाङको मस्टा गाउँपालिका–२ का १६ वर्षीय राजेन्द्र बोहरा अस्पतालबाट फरार भएका थिए । उनलाई डोटीको पूर्वचौकी गाउँपालिकाबाट प्रहरीले पक्रेको हो। गत असोज ७ गते साँझ मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना विश्वकर्मालाई बलात्कारपछि त्रिशूलले रोपेर उनले हत्या गरेका थिए। हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका १६ वर्षीय बोहोरालाई प्रहरीले बाल सुधार गृहमा राखेको थियो। कोरोना संक्रमण देखिएपछि उनलाई बाल सुधार गृहबाट जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । त्यहिँबाट उनी भागेका थिए ।

राति १० बजे फरार भएका बोहरालाई पूर्वचौकी गाउँपालिकाको शान्तिनगर जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख जनकराज पाण्डेले जानकारी दिए । अस्पतालमा युवकको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरेर थप छानबिन गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए । ‘अस्पतालमा खटिएका प्रहरीको लापरबाहीका कारण किशोर फरार भए पनि प्रहरी सक्रियताकै कारण उनलाई समयमै पक्राउ गरिए छ,’ उनले भने ।

बोहोराले सम्झनाको हत्या गर्नुपूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो । सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । उनीहरु धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया दिनुस