बैतडीमा पनि लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान सञ्चालनमा रहेको छ। जिल्लाका सबैजसो स्थानीय तहहरुमा १६ दिने अभियान सञ्चालनमा रहेको हो। ८ स्थानीय तहहरुले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै उक्त अभियान सञ्चालन गरिरहेका हुन्। जिल्लाको शिवनाथ गाउँपालिकाले प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम गर्दै उक्त अभियान मनाइरहेको जनाएको छ।

प्रत्येक वडामा अभियान सञ्चालन गर्दै मावि विद्यालयहरुमा वक्तृत्वकला र महिला देउडा प्रतियोगिता सञ्चालन भइरहेका शिवनाथ गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता भण्डारी (कुँवर)ले जानकारी दिइन्। उनले ४ वडामा अभियान सम्पन्न भएको जानकारी दिइन्।

विद्यालयमा गरिने सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरुले सिकेका कुरा घरमा लागु गराउने उद्देश्य रहेको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुुस्मा चन्दले बताइन्। दोगडाकेदार गाउँपालिकाका पनि प्रत्येक वडा उक्त अभियान सञ्चालन रहेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्। प्रत्येक वडामा गएर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,आमा समूह, स्वास्थ्यकर्मीबिच अन्र्तक्रिया कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन्।

उनले कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै २५ जना मात्रै सहभागी गराएर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्। यस्तै पञ्चेश्वर गाउँपालिकामा पनि लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन रहेको गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले जानकारी दिए।

कोरोना भाईरसको महामारीका कारण भीडभाड हुने खालका कार्यक्रम नभए पनि सञ्चार माध्यमबाट पैरवी तथा बहस गर्ने खालका कार्यक्रम सञ्चालन गरिएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन। जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा भने लकडाउन गरिएको उक्त अभियान प्रभावित भएको छ। संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो।

हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ। विभिन्न अध्ययनहरु अनुसार संसारभरिका प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन्।

धेरैजसो हिंसा उनीहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट हुने देखिएको छ। त्यस्तै अर्को अध्ययनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको शिकार हुने गरेका देखाएको छ।

प्रतिक्रिया दिनुस