गायक तथा लेखक जगतमर्दन थापाको स्वास्थ्य उपचार क्रममा निधन भएको छ। आज बिहान १० बजे राजधानीको नर्भिक अस्पतालमा उनको निधन भएको हो। एक महिनाअघि कोरोना संक्रमित भएका उनमा फोक्सोमा समस्या देखिएको थियो। ८५ वर्षीय थापा कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्केका थिए। तर अचानक समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। ’नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापा आज रहनु भएन, नेपाली संगीत अभिभावकविहीन भएको छ,’ लेखक तथा रेडियो प्रस्तोता प्रकाश सायमीले गायक थापाको निधन भएपछि सामाजिक सञ्जालमा लेखेका छन्।

सप्तरीको बरमझियामा जन्मेका थापा २००८ सालमा १६ वर्षको उमेरमा काठमाडौं गएका थिए। २०१८ सालमा नै कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए। नेपाली कला र संगीतको क्षेत्रमा निरन्तर सक्रिय उनले २०२१ सालमा ’पतझर र पलाँसको फूल’ कथा संग्रह र ’दिलको आवाज गीति संग्रह’ प्रकाशित गरेका थिए। ०७४ मा उनले भारतीय गायिका उषा मंगेशकरसँग ‘म पतझर तिमी मधुमास’ बोलको गीत गाएका थिए। जसमा सहदेव ढुंगानाको शब्द, शिखर सन्तोषको संगीत रहेको छ। ६४ वर्षकोे उमेरमा उनले प्रभुराज ढकालसँग झन्डै नौ वर्ष संगीत सिकेका उनले ८० वर्षको उमेरमा समेत गीति एल्बम निकालेका थिए।

प्रतिक्रिया दिनुस