द भ्वाइस अफ नेपाल सिजन–३ का लागि प्रतियोगीको खोजी सुरु भएको छ। यसको अडिसन डिजिटल प्रविधिबाटै सुरु गरिएको आयोजक सुशील नेपालले जानकारी गराएका छन्। डिजिटल अडिसनमार्फत आफ्नो गीतको भिडियो रेकर्ड पठाई यसमा आवेदन गर्न सकिने पनि उनले बताएका छन्।

द भ्वाइस अफ नेपाल हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ। तेस्रो सिजनको द भ्वाइस अफ नेपालका लागि शनिबारबाट डिजिटल अडिसन सुरु गरिएको हो। द भ्वाइस अफ नेपालको प्लेटर्फममार्फत सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाहरूले अडिसनमा सहभागी हुन पाउने पनि आयोजक पक्षले जनाएको छ। यो प्रतियोगितामा १६ वर्षदेखि ४५ वर्षसम्मका प्रतिभाहरूले भाग लिन पाउने पनि आयोजक पक्षले जनाएको छ। अडिसनमा नेपाली नागरिक मात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्ने सुशीलले बताए। यस्ता प्रतिभाहरूले अडिसन दिनका अडिसन कार्यक्रममा प्रत्यक्ष सहभागी हुनुपर्ने पनि आयोजक पक्षले जानकारी गराएको छ।

द भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनमा सहभागी हुन द भ्वाइस अफ नेपालको अफिसियल एप डाउनलोड गरी फाराम भर्नुपर्ने पनि आयोजक पक्षले जानकारी गराएक छ। फाराम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने पनि आयोजक सुशीलले जानकारी गराए।  प्रयोगकर्ताले फेसबुकमा रहेको द भ्वाइस अफ नेपालको पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन्। इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले द भ्वाइस अफ नेपालको उत्पादन टिमको फोन नम्बरमा फोन गरेर अडिसनका लागि समन्वय गर्न सक्ने पनि उनले बताए।

यस पटकको कोचमा गायक प्रमोद खरेल र राजु लामा चयन भइसकेका छन्। आफुहरू नयाँ प्रतियोगीहरूसँग सहकार्य गर्न उत्साहित भएको उनीहरूको भनाइ छ। द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले गर्दै छन्। उनका अनुसार कोरोना संक्रमणका कारण यसपटक डिजिटल अडिसन लिन लागिएको हो। अडिसनबाट चयन भएका १ सय जना प्रतिभालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने पनि उनले बताए।

प्रतिक्रिया दिनुस