कञ्चनपुरमा मापदण्ड विपरीत नदी तथा खोलानाला उत्खनन भइरहेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ। चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा उपकरण प्रयोग गरी मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन भएको गुनासो बढेसँगै बुधबार प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख, प्रमुख वन अधिकृतलगायतको टोलीले अनुगमन गरेको हो।

बेदकोट नगरपालिका ४ बैतडाको बगुन खोलामा दर्जनौँ ब्याकहो लोडर प्रयोग गरेर मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेको गुनासो आएसँगै यसपटक स्थानीय प्रशासनले चासो देखाएको हो। अनुगमनका क्रममा चुरे भएर बग्ने बगुन खोलामा मापदण्ड विपरीत उत्खनन गरेको पाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।

उनले बगुन खोलामा बेदकोट नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण गरी ठेक्का दिए पनि मापदण्ड विपरीत उत्खनन भएको बताए। उनका अनुशार उत्खननका लागि छुट्याइनुपर्ने क्षेत्रको नाप, जाँच नभएको र कति गहिराइसम्म उत्खनन गर्ने भनेर लेभल छुट्याइएको छैन्। यस्तै, ठेक्का सम्झौताअनुसार दैनिक २९६ घनमिटर मात्रै उत्खनन गर्नुपर्ने र ३० टिपरभन्दा बढी नदीजन्य सामग्री बिक्री, वितरण गर्न नपाइने भए पनि त्योभन्दा बढी उत्खनन तथा बिक्री वितरण भएको पाइएको छ।

त्यसैगरी एक मिटर गहिरो उत्खनन गर्नुपर्नेमा दुई मिटर गहिरो उत्खनन गरिएको, मेसिनको प्रयोग गर्दा नगरपालिकाको अनुमति निलिइएको र नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन गरी बिक्री, वितरण गर्दा अभिलेखसमेत नराखेको पाइएको प्रमुख जिल्ला अधिकारी महतोले बताए। उनले नियन्त्रणमा लिएका ब्याकहो लोडरलाई नगरपालिकाको कार्य निर्देशिकाअनुसार जरिबाना गरेर छोडिने बताउँदै ठेकेदारलाई मापदण्डअनुसार काम गर्न निर्देशन दिएको बताए।

नदीजन्य पदार्थ उत्खननका लागि नगरपालिकाले ठेक्का दिएकाले मापदण्ड विपरीत उत्खनन गर्न नदिन बेदकोट नगरपालिकालाई सुझावसहितको पत्र पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुस